काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा गोपालप्रकाश भट्टराई र वनस्पति विभागमा धनञ्जय पौडेललाई महानिर्देशकमा सरुवा गरिएको छ ।
भट्ट्राई निकुञ्जकै क्याडर हुन भने पौडेल ‘जफ’का क्याडर भएर पनि वनस्पति विभागका डिजी हुन पाउने अर्का भाग्यमानी व्यक्ति हुन । आफ्नो जागिरे जीवन निकुञ्जमै बिताएका अनुभवी भट्टराईलाई महानिर्देशक बनाइँदा नेपालको संरक्षण इतिहासमा थप एक इटा थपिने टिप्पणी मन्त्रालयका एक सहसचिवले गरेका छन् ।
हालका महानिर्देशक मनबहादुर खड्कालाई तत्कालिन वन मन्त्री शंकर भण्डारीद्धारा पूर्वाञ्चल क्षेत्रीय निर्देशकबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक सरुवा गरिएको थियो ।

दुई तिहाई सरकारका मन्त्री शक्तिबहादुर बस्नेतले विभागका महानिर्देशक खड्कालाई चुरेमा सरुवा गरेका छन् । विभागमा २ जना उपमहानिर्देशकको दरबन्दी भएपनि डा. रामचन्द्र कँडेल मात्र उपमहानिर्देशक छन् । सो विभागमा अर्काेलाई सरुवा गरिएको छैन ।
संरक्षित क्षेत्रभित्र होटल राख्ने योजनामा सधैँ तगारो बन्दै आएका र संरक्षित क्षेत्रभित्र होटल राखिनु हुन्न भन्ने वकालत गर्दै आएका महानिर्देशक खड्काले मन्त्री बस्नेतलाई असहयोग गरेको आरोप मन्त्री सचिवालयले लगाउँदै आएको छ ।
त्यसैगरी सञ्जिवकुमार राई प्रदेश १ को सचिवमा सरुवा भएपछि खाली भएको वनस्पति विभागको महानिर्देशकका प्रदेश ५ का सचिवबाट सरुवा भएका धनञ्जय पौडेललाई सरुवा गरिएको छ ।
प्रदेश २ बाट मन्त्रालयमा आएका नवराज काफ्ले र प्रदेश १ बाट सरुवा भएर आएका बद्री ढुंगानालाई वन विभागका सरुवा गरिएको छ भने वन विभागका डा. राजेन्द्र केशीलाई मन्त्रालय तानिएको छ । डा. केशी र डा. सिन्धुप्रसाद ढुंगाना सचिव डा. विश्वनाथ ओलीले मन पराएका मान्छे मानिन्छन् ।
डा. ढुंगानाले मन्त्रालयमा बसेर वर्तमान नेतृत्वलाई आधा काँध थापिरहेका छन् भने अध्ययनशिल डा. केशीलाई मन्त्रालयमा लैजानुको पछाडी राम्रै जिम्मेवारी दिइने अनुमान गरिएको छ ।