निजी अस्पताल र क्लिनिकले बिरामी जाँच्नै छाडे

काठमाडौं । देशभरका अधिकांश निजी अस्पताल तथा क्लिनिकले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमको त्रासले सेवा दिनै छाडेपछि अन्य रोगका बिरामी मारमा पर्न थालेका छन् ।

ज्वरो र रुघाखोकीका बिरामीलाई चेकजाँच गर्न निजी अस्पतालले आनाकानी गर्न थालेपछि कतिपय बिरामी अस्पतालबाहिर अलपत्र परेका छन् ।

कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै व्यस्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्ता अस्पताललाई अनुगमन गर्न नभ्याउँदा उनीहरूले बिरामीको उपचार नै गर्न नमानेका हुन् । सरकारले सरकारी, निजी वा सामुदायिक कुनै पनि अस्पतालले शंकाको भरमा बिरामीको उपचार गर्न नसक्ने भन्न नपाउने बताउँदै आएको छ ।

ट्याङलाफाँट बस्दै आएकी कविता महर्जन टाउको दुखेर कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र पुगिन् । तर, केन्द्र बन्द थियो । उनले भनिन्, ‘टाउको एक्कासि दुख्यो, उपचार गराउन जाँदा बन्द पो रहेछ ।’

यस्तै, अत्यावश्यक मानिएका औषधि पसल बन्द रहँदा बिरामी मारमा परेका छन् । निजी क्लिनिक पनि अधिकांश बन्द रहेका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले संकटको समयमा निजी अस्पताल बन्द गर्न नहुने बताए ।

उनले भने, ‘अस्पताल अत्यावश्यक सेवाअन्तर्गत पर्छन् । निजी अस्पतालमा नाफासँगै सेवाको भावना पनि हुनुपर्छ । बिरामीलाई अस्पतालमा भर्ना नगरेर गेटमा ताला लगाउनु गैरजिम्मेवारपन हो ।’

नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. रितेश थापा बिरामीले प्रभावकारी सुविधा नपाएको स्विकार्छन् । उनले भने, ‘स्वास्थ्यकर्मीलाई राज्यले विश्वास दिलाउन सकेको छैन । स्वास्थ्यजन्य सामग्री उपलब्ध नगराएर जबर्जस्ती काममा लगाउन खोजेको देखिन्छ ।’

उनले कोरोना भाइरसको आशंकामा रहेका र प्रभावित बिरामीका लागि छुट्टै अस्पताल तयार गर्न आवश्यक रहेको बताए ।

सरकारले पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध नगराउँदा र सामाजिक दूरी कायम गर्नुपर्ने भएपछि सेवा प्रवाहमा समस्या खड्किएको छ । निजी अस्पतालका सञ्चालकहरूले कोरोना जोखिम रहेको र सरकारले पीपीई व्यवस्था नगरेका कारण अप्ठेरो भएको गुनासो गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले संकटको बेला सहयोगी भावना हुनुपर्ने बताए । उनले भने, ‘यो अवस्थामा निजी र सरकारी भन्ने हुनुहुँदैन । आफ्नो दायित्व बिर्सनुभएन ।’ उनले जोखिमको समयमा सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले औषधि बिहान वा बेलुकी केही समय खोल्न फार्मेसीलाई आग्रह गरे । उनले भने, ‘औषधि अत्यावश्यकीय सेवाभित्र पर्ने भएकाले जोखिमलाई ध्यान दिँदै समय मिलाएर सञ्चालन गर्नुपर्छ । अप्ठेरो परिस्थिति परे वैकल्पिक व्यवस्था गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here