काठमाडौँ । तीन दिन अघि मात्र कैलाली र कञ्चनपुरमा थप तीन जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिनु र छिमेकी मुलुक भारतमा कोरोना भाइरसको समस्या जटिल हुँदै गएको परिस्थितिलाई आँकलन गरी लकडाउनको समय थप्ने तयारी सरकारले गरेको छ ।
सरकारका एक मन्त्रीले नेपालकथालाई सोमवार बिहाना बताएअनुसार कति दिन थप्ने भन्ने टुंगोमा नपुगेपनि लकडाउनका समय थप्दा राम्रो हुने कुरामा सबै मन्त्रीहरुको सहमति छ । आज साँझको मन्त्रीपरिषदले लकडाउनका टुंगो लगाउन्छ ।
नेपालमा लकडाउनका समय थप्नु पर्ने परिस्थिति यथावत रहेको तर्क गर्दै उनले भने, भारतमा लकडाउनका समय अझै बाँकी रहेको, भारतमा आइतवार राती मात्रै २० जनाको कोरोना भाइरसका कारणल मृत्यु भएको र यता कैलाली, कञ्चनपुर, गुल्मी लगायतका जिल्लामा संक्रमण बढ्ने खतरा देखिएकोले लकडाउनको समय थप्न आवश्यक नै छ ।
भारतमा आइतवारसम्म ८९ जना मृत्यु भएको थियो भने सोमवार यो संख्या वृद्धि भएर १०९ जना पुगेको छ ।
आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकमा पनि लकडाउनको समय थप्ने विषयमा छलफल भएको थियो । सोमवार साँझ अघि समितिको बैठक बस्न सक्ने र पछिल्लो परिस्थितिको आँकलन गरी मन्त्रीपरिषदमा लैजाने तयारी भइरहेको स्रोतले बताएको छ ।