लकडाउनमा वार्डेन डायरी–२ : निन्द्रा कम पर्छ

काठमाडौँ । २०७६ सालको चैत पहिलो हप्ता सुरु भएको लकडाउन २०७७ सालको पहिलो दिनसम्म जारी छ । यो अवधिसम्म नेपाली समाजभित्र खानपान, उठ्बसका आनीबानी तथा दैनिकी परिवर्तन भएका छन् ।

कतिपयले यो अवधिलाई सदुपयोग गरेका छन् भने कतिले यो अवधिमा आफना आनबानी परिवर्तन गर्ने शुभअवसरका रुपमा लिएका पनि छन् । यो अवधि कतिपय पेशागत समुहका व्यक्तिलाई घरमा बसेर आराम गर्ने समय प्रदान गरेको झैँ भएको छ भने कतिपय पेशाका व्यक्तिलाई नयाँ र थप चुनौती पनि थपि दिएको छ ।

नयाँ खालका थप चुनौतीका सामना गर्ने पेशागत समुहमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत फिल्ड तहमा खटिने कर्मचारी पनि रहेका छन् । नेपालकथाले विभाग अन्र्तगत रहेका बिभिन्न संरक्षण क्षेत्रमा कार्यरत चिफ वार्डेनसँग लकडाउन दैनिकी खोतल्ने प्रयास गरेको छ । जुन यहाँ प्रस्तुत गरिएको छ ।

थप चुनौतीसँगको लडाई जारी छ
अमिर महर्जन, चिफ वार्डेन, पर्सा राष्ट्रिय निकुञ्ज

चोरी शिकार नियन्त्रणको चुनौती त सधैँ भन्दा अलि बढी देखिएको छ । अस्ति मात्रै निकुञ्जभित्रै बन्दोबस्तीका सामान ल्याएर चोरीशिकार गर्न आएको समुहसँग मुडभेड भयो । एक जना नेपाली सेनाका व्यक्ति घाइते भए, एक जना शिकारीको गोली लागेर ज्यान गयो । तत्पश्चात त भन्ने हो भने राती निन्द्रा नै हराए जस्तै भएको छ । हिजो मात्र वन मन्त्री, सचिव तथा महानिर्देशकसँग मैले यहाँका सबै यथार्थ कुरा राखेको छु । फिल्डमा अहिले निकै समस्या थपिएका छन् । निकुञ्ज वरीपरी बस्तीबाट थप चुनौती देखिएकाले गस्तीलाई बढाएको छु । आफै पनि गस्तीमा हिड्ने गरेको छु । नेपाली सेनासँगको निकट समन्वयमा हामीले संयुक्त अपरेसन गर्ने गरेका छौँ । यहाँका सबै स्टाफले मिहिनेतका साथ काम गरेका छन् । गर्मी बढी रहेको छ । लकडाउन हुँदा वनजंगलभित्रको गस्ती गर्दा केही भइहाल्यो भने निकै गाह्रो छ नै तर पनि राज्यले दिएको जिम्मेवारी पूरा गर्नै पर्छ ।

सानोतिनो बदमासी गर्ने बढे
लक्ष्मण पौड्याल, चिफ वार्डेन, शुक्लफाँटा राष्ट्रिय निकुञ्ज

सबै मानिस घरभित्रै छन् । राती सुनसान भएपछि बदमासी गर्ने व्यक्तिलाई सहज भएको जस्तो भएको छ । निकुञ्जभित्रको गस्तीलाई विगतको भन्दा तीन गुना बढाएका छौँ । निकुञ्जभित्र मात्र गस्ती गरेर हुँदैन रहेछ, मध्यवर्ती क्षेत्रमा जान सकिएको छैन । गाडीको पास छैन । सरकारी गाडीलाई भएपनि हामीले कतिपय अवस्थामा नीजि गाडी पनि प्रयोग गर्नु पर्ने हुन्छ । त्यो अवस्था छैन । निकुञ्जसँग जोडिएको बस्तीबाट चित्तल, बँदेलको शिकार गर्ने र मौकामा फाइदा उठाउँदै काठ चोर्नेको बिगबिगी देखियो । यी सबै कुरा हिजो मन्त्री, सचिव र महानिर्देशकसँग अवगत गराए । १० जना काठ तस्करी गर्ने र १० जना माछा मार्नेलाई जनप्रतिनिधिको जवानीमा लकडाउन खुलेपछि निकुञ्जमा हाजिर हुने गरी छोडिएको छ । नेपाली सेनाको समन्वयमा संयुक्त गस्ती बढाएका छौँ । म आफै सबै ठाउँमा जान नसकेपनि अधिकांश गस्तीमा मैले हिड्ने गरेको छु । गर्मी निकै बढेको छ, लकडाउनले जनजीवन यहाँको निकै कष्टकर हुँदै गएको छ ।

जिम्मेवारी पूरा गरेसँगै ‘मनशान्ति’ को समयको रुपमा लिएको छु
दिल पुनमगर, चिफ वार्डेन, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

आजबाट वन्यजन्तु सप्ताह सुरु भयो । आज बिहान नेपाली सेना र हामीले मिलेर सानो कार्यक्रम सञ्चाल गर्यौ । काठमाडौँको काखमा रहेकोले यो निकुञ्ज बढी सम्वेदनशिल देखिएको छ । लकडाउनका बेला कर्मचारी हुदैनन् भन्ने मानसिकताले हो कि के हो ? विना अनुमति जंगल पस्ने व्यक्तिको संख्या निकै बढेको छ । कोही घुम्न त कोही हाइकिङ गर्न आएको भन्छन्, वरीपरीका बासिन्दाले पनि यो लकडाउनका बेला निकै सताएको छ । दाउराका लागि मानिस निकुञ्जभित्र प्रवेश गर्ने गरेका छन् । यो अवधिमा २३४ जनालाई समातेर आवश्यक कारवाही गरेका छौँ । ड्राइ पिकनिक भन्दै कतिपय मानिस भित्र पस्न खोज्छन् । ठूला घटना आजका दिनसम्म नभएपनि विना अनुमति निकुञ्जभित्र छिर्ने व्यक्तिको पहिचान नहुने भएकाले कति बेला के संकट आइलाग्छ भन्ने चिन्ता बढी रहेको छ । त्यसैले गस्तीलाई निकै बढाएका छौँ । हरेक दिन म आफै गस्तीमा जाने गरेको छु । काठमाडौँको कोलाहलभन्दा यो ठाउँ निकै शान्त छ । लकडाउनलाई मैले त पेशागत जिम्मेवारीका साथै ‘मनशान्तिको समय’ को रुपमा लिएको छु ।

मान्छे पक्राउ गर्नै गाह्रो छ
शरोजमणि पौडेल, चिफ वार्डेन, शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज

लकडाउनसँगै सेवाग्राहीसँगको सम्बन्ध खासै छैन । निकुञ्ज भित्रका सबै गतिविधि यथावत सञ्चालन भइरहेका छन् । यहाँको मौसम मजाको छ । जंगलभित्र पसेपछि बाहिर ननिस्किउ जस्तै लाग्छ तर पनि भोक, निन्द्राले कोठातिर डोर्याउँदो रहेछ । अलि अलि बदमासी बढ्न थालेको छ । मैले सबै सेक्टर र रेञ्जपोष्टमा गस्ती बढाउन भनेको छु । आफु पनि सकुन्जेल हिडि राखेको छु । हाम्रा स्थानीय समुदायका संयन्त्रसँग हरेक दिनजसो कुराकानी गर्दै आवश्यक सहयोग र निर्देशन दिने गरेको छु । बदमासी गर्ने व्यक्तिलाई समातेर ल्याउन पनि गाह्रो छ । कोरोनाका त्रास छ, अस्ति एक ठाउँमा भेटिएका बदमासी गर्ने व्यक्तिलाई छोपेर ल्याउन गाह्रो भो । को मान्छे कस्तो छ ? संक्रमण छ वा छैन ? एक्कासी छोप्न नि गाह्रो छ । स्यानीटाइजर, मास्क तथा अरु सुरक्षाका साधन छैनन् । दुर्गम ठाउँ छ । डोल्पामा राम्रो उपचार पाउने सपना पनि नदेख्दा हुन्छ । अहिलेसम्म खाना सम्म पाइएको छ । आज नयाँ वर्षको दिन, मिठो मसिनो त त्यस्तै हो । साग सम्म पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here