युरोपका सबै देशमा देखियो नयाँ प्रकारको कोरोना


जेनेभा । युरोपका देशहरुमा नयाँ प्रकारको कोरोनाभाइरस देखा परेको छ । जसले गर्दा यी देशहरु पुनः थला पर्न थालेका छन् ।

युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले सो अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिनुभयो । उहाँले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नु पर्नेमा पनि जोड दिनुभयो ।

कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउदै नयाँ प्रकारको भाइरसले युवालाई बढी प्रभावित पारेको देखिएको पनि उहाँले जानकारी दिनुभएको छ ।
नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताएपनि उहाँले देशहरुको नाम भने उल्लेख गर्नुभएको छैन ।

उहाँले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने लगायतका उपायहरुलाई कडाइका साथ अबलम्बन गर्न पनि आह्वान गर्नुभयो ।

“डब्लुएचओले सबै अवस्थालाई गम्भीरतापूर्वक नियालिरहेको छ,” निर्देशक क्लुगले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।
यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाई छ ।

नयाँ प्रकारको कोरोना बेलायतमा गत हप्ता पुष्टि गरिएको थियो । त्यसपछि बेलायतबाट अन्य देशहरुमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ । सो कोरोना अन्य देशहरुमा पनि फैलिएको पुष्टि भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । विश्वमा महामारी अहिले पनि जारी छ ।

हकिङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म विश्वभरी सात करोड ९७ लाख १२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १७ लाख ४७ हजार ७९० भन्दा बढीको मृत्यु भएको छ ।

सबैभन्दा धेरै प्रभावित अमेरिका भएको छ भने दोस्रो धेरै भारत र तेस्रो धेरै ब्राजिल प्रभावित भएको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here