रेडपाण्डाका लागि सात सय रोपनीमा वृक्षरोपण

इलाम । पूर्वी नेपालको इलाम जिल्ला सन्दकपुर गाउँपालिकाले रेडपाण्डा व्यवस्थापनका लागि जौवारीमा ७०० रोपनी जग्गामा वृक्षरोपण गर्न थालिएको छ ।


रेडपाण्डा आवतजावत गर्ने जैविक मार्ग संरक्षण गर्नका लागि निजी आवादी जमिन खरिद गरेर सरकारको मातहतमा ल्याई रेडपाण्डा संरक्षणका लागि वृक्षरोपण थालिएको हो ।
रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कको सहयोगमा उच्च पहाडी संस्थाले जिल्ला वन कार्यलयको रोहबरमा जग्गा संरक्षण गरेको उच्च पहाडी संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाक बताउनुहुन्छ । “नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने भएकाले भारततर्फ सिंहलीला नेशनल पार्क रहेको छ”, उहाँ भन्नुहुन्छ, “त्यो क्षेत्र संरक्षित छ, नेपालतिर जङ्गल विनाश भएर गएको छ ।”

नेपालतिरको जङ्गल विनाश भएकाले वन्यजन्तु आवतजावतको लागि समस्या भएको बताइएको छ । त्यसको समाधानको लागि नेपाल र भारतबीचको जैविक मार्ग जोड्न पनि वृक्षरोपणको काम थालिएको उहाँको भनाइ छ । रेडपाण्डाको चरिचरन तीव्र भएको र वनजङ्गल विनाश भएसँगै निजी आवादीमा रेडपाण्डाको वासस्थान मासिएका कारण संरक्षण थालिएको हो ।

संस्थाले गत वर्ष १७५ रोपनी जग्गा र यस वर्ष १९८ रोपनी जग्गा खरिद गरेर वृक्षरोपणको काम शुरु गरेको हो । उक्त ठाउँमा विभिन्न व्यक्तिका नाममा रहेको जग्गा खरिद गरी तारबार गर्ने काम थालिएको खाम्दाकको भनाइ छ । करिब तीन हजार मिटर क्षेत्रमा तारबारको तयारी गरिएको छ भने त्यस क्षेत्रकोे आसपासमा रहेका सरकारी जग्गासमेत समेटेर करिब ७०० रोपनी क्षेत्रफलमा वृक्षरोपणको काम थालिएकोे छ ।

रेडपाण्डाको आहाराको रूपमा रहेको वनस्पति मालिङ्गो टेङ्गा, कुलिङ्गा चिमाल, वाण्टे, भालुचिन्डे गुराँसजस्ता वनस्पति लगाइएको छ । संस्थाले रेडपाण्डाको गतिविधि र क्रियाकलाप दैनिक अनुसन्धान गर्न एक वर्षका लागि १० वटा रेडपाण्डामा सेटेलाइट कलरिङ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here