माघी नलाग्दै तरुल खन्न चटारो

सर्लाही । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा सर्लाहीको पश्चिम क्षेत्रका किसानलाई तरुल खन्ने र बेच्ने चटारो परेको छ ।

गत वर्षको भन्दा यस वर्ष तरुलको मूल्य राम्रो भएकाले चाँडै तरुल खनेर बिक्री गर्न किसानलाई हतार भएको हो । व्यापारीले व्यावसायिक रूपमा तरुल खेती गरिएका किसानको खेतबारीमै पुगेर तरुल खरिद गर्न थालेपछि उनीहरू उत्साहित भएका हुन् । माघे सङ्क्रान्ति आउन एक हप्ता बाँकी भए पनि अन्यत्र निकासीका लागि अहिलेदेखिनै खन्न थालिएको किसानले बताएका छन् ।

जिल्लाको कर्मैया, जिरायत, बरहथवा, हजरिया, राजघाट र शङ्करपुरलगायतका क्षेत्रमा व्यावसायिक रूपमा तरुलखेती गरिन्छ । तरुल खेतीबाट यहाँका किसानले वर्षेनी मनग्य आम्दानी गर्दै आएका छन् । यो वर्ष आफूले १७ कठ्ठामा लगाएको तरुल रु दुई लाख १५ हजारमा बिक्री गरिसकेको बागमती नगरपालिका–१०, शङ्करपुरका किसान मोहन लुम्रे मगरले बताउनुभयो । किसानको खेतमै व्यापारी पुगेर तरुल किन्ने गरेका कारण किसानले आफैले मजदूर लगाउनुपर्ने समस्या समाधान भएको किसानको भनाइ छ ।

यो वर्ष प्रतिकठ्ठा रु १५ देखि २० हजारसम्ममा तरुल बिक्री भइरहेको बागमती नगरपालिका–५ राजघाट टेकानीका किसान शिव पुलामीले बताउनुभयो । पुलामीले आफ्नो ६ कठ्ठाखेतमा लगाएको तरुल रु ९० हजारमा व्यापारीलाई बिक्री गरेको बताउनुभयो । व्यापारीले नै खनेर लैजाँदा किसानको ज्याला पनि बच्ने गरेको उहाँको भनाइ छ ।

जिल्लाका किसानले फलाएको तरुल बढी मात्रामा काठमाडौँ लाने गरिएको व्यापारीले बताएका छन् । यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाडौँलगायत ठूला शहरबाट अत्यधिक माग आइरहेको बरहथवा नगरपालिका–५ का व्यापारी रामनाथ साहले बताउनुभयो । जिल्लाका किसानले पताले र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन्् । यहाँको तरुल काठमाडौँ, पोखरा, वीरगञ्ज, इटहरीलगायत प्रमुख बजारसम्म पुग्ने गरेको व्यापारीको भनाइ छ ।

जिल्लामा करिब २५० हेक्टर क्षेत्रफलमा तरुल उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख कमलदेवप्रसाद कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिहेक्टर १५ टनसम्म तरुल फल्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here