सिमसार दिवस: मन्त्रीले भन्दा सचिवले बोले दमदार कुरा

काठमाडौँ । आज विश्व सिमसार दिवस । नेपालले पनि यो दिवस मनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्धारा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि थिए, वन तथा वातावरण मन्त्री प्रेम आले अनि विशेष अतिथि थिए मन्त्रालयका सचिव डा. विश्वनाथ ओली ।

सदाझैँ यो वर्ष पनि सिमसार दिवसलाई विभागले औपचारिक कार्यक्रमको आयोजना गरी केही प्रकाशनको लोकार्पण गर्ने कार्य सम्पन्न भयो । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री आलेले इरानबाट सुरु भएको सिमसारको कथा कोट्याउदै भने, आदरणीय न्यायप्रेमी जनसमुदायमा सिमसार दिवशको शुभकामना । विश्वभर रहेका सबैलाई मन्त्रीको तर्फबाट शुभकामना दिन पाउँदा निकै खुसी लागेको छ ।

उनले भने, हिमालमा धेरै सिमसार रहेछन् अनि तल्तिर पहाडमा खासै सिमसार रहनेछन् तराईमा त ४० प्रतिशत सिमसार क्षेत्र रहेका छन् । यिनको संरक्षणका लागि मन्त्रालयले बजेटका व्यवस्था गर्नेछ । हामी त्यसका लागि लाग्ने छौँ ।

वन तथा वातावरण मन्त्री प्रेम आले

आफ्ना छोरा बिक्रम आलेको शुभबिबाहको काममा अलि व्यस्त देखिएका मन्त्री आलेले सिमसारको इरान शहरदेखि नेपालको हिमाल, पहाड र तराईसम्मको सिमसारको बजेट व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । अन्तमा भने, मेरो पारिवारिक कामका कारणले म यहाँ धेरै समय बस्न सक्दिन । आज यहाँहरुले मलाई सिमसारका बारेमा धेरै कुरा सिकाउनुभयो, सिक्ने अवसर पाए ।

मन्त्री आलेका छोरा बिक्रमको माघ १६ गते बिबाह सम्पन्न भई २१ गते भोजभतेरको कार्यक्रम रहेको छ । सिमसारको कार्यक्रममा मन्त्रीका सचिवालयका कर्मचारीले मन्त्रीको छोराको भोजको निम्तो बाँड्ने अवसरका रुपमा लिएका थिए ।

वन तथा वातावरण सचिव डा. विश्वनाथ ओली

सो कार्यक्रममा वन सचिव डा. विश्वनाथ ओलीले सिमसारको संरक्षणका विषयमा सान्दर्भिक र मननयोग्य मन्तव्य व्यक्त गरे । उनले भने, विगतदेखि नै नेपालले रामसार महासन्धीमा हस्ताक्षर गरेका कारण हामीले सिमसारको संरक्षण गर्नुपर्छ भन्दै आयौँ । के विश्व जगतका लागि मात्र हामीले सिमसारको संरक्षण गर्ने हो र ? सिमसारको संरक्षण त हामीले आफ्नै लागि गर्नुपर्छ भन्ने कुराको कहिले अनुभव गर्ने र हाम्रा सिमसारको संरक्षण हाम्रै लागि हो भनेर कहिले भन्ने ?

उनले भने, अब कुरा गरेर मात्र होइन, काम गरेर देखाउन सके मात्र नेपालका सिमसारको संरक्षण हुन सक्छ । नभए सिमसारको एकोहोरो दोहन हुँदै जाँदा भोलीको पुस्ता जोखिमका पर्न सम्भावा निश्चित छ ।

महानिर्देशक डा. दिपक खराल

राष्ट्रपति चुरेबाट सरुवा भएर विभागको महानिर्देशक भएका डा. दिपक खरालले आफ्नो पहिलो औपचारिक कार्यक्रममा सिमसार संरक्षणका लागि विभाग भन्दा पनि एनटीएनसीको भूमिका बढी भएको तर्क प्रस्तुत गरे । उनले भने, हामी त सिमसार संरक्षणका लागि काम गरिरहेका छौँ । एनटीएनसी लगायतका संघसंस्थाका बढी भूमिका हुन्छ । हामीले ती संस्थाबाट बढी आशा पनि गरेका छौँ ।

उनले आफ्नो छोटो मन्तव्यमा कम्तिमा आधा दर्जन पटक एनटीएनसीको नाम उच्चारण गरे तर कार्यक्रममा संरक्षण साझेदार संस्था डब्लुडब्लुएफ, आइयूसिएन, जेडएसएल, बीसीएन लगायतका प्रतिनिधिको उपस्थिति पनि थियो । विभागसँग सो दिवस मनाउन सबै साझेदार संस्थाहरुले उत्तिकै सहयोग गरेका छन् भने सिमसार संरक्षणका लागि पनि सबै संरक्षण साझेदार संस्थाका कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here