बर्दिया । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले संरक्षित क्षेत्रमा देखिएको मानव वन्यजन्तुबीचको द्धन्द्धलाई स्थानीय तहमा समाधान गरिनुपर्ने बताएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको आक्रमणका घटना बढेपछि बर्दिया राष्ट्रिय निकुञ्जको स्थलगत अध्ययन भ्रमणका क्रममा मन्त्री आलेले यस्तो कुरा बताएका हुन् । यो वर्षमात्रै बर्दियामा बाघको आक्रमणमा परि नौ जनाको ज्यान गइसकेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दिपककुमार खरालले दिएका जानकारी अनुसार मन्त्री आलेले बर्दियामा बाघको आक्रमणका घटना बढेकोले स्थानीय बासिन्दामा राहतका कार्यक्रम ल्याउन र सचेतना फैलाउने खालका गतिविधि सञ्चालन गर्न निकुञ्जलाई निर्देशन दिएका छन् ।
मन्त्री आले समक्ष बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले पछिल्ला समयमा निकुञ्ज र निकुञ्ज आसपासका क्षेत्रमा भएको मानव वन्यजन्तु द्धन्द्धका घटना र संरक्षणमा भएका प्रगति बारे जानकारी गराएका थिए ।
मन्त्री आलेले स्थानीय बासिन्दा र निकुञ्जले स्थानीय तहमा वन्यजन्तुबाट उत्पन्न भएका समस्या समाधान गर्नुपर्ने जोड दिएका छन् । मन्त्री आलले स्थानीय समुदायलाई संरक्षणका लागि परिचालन गर्न वन तथा वातावरण मन्त्रालयले तत्काल गर्नुपर्ने कामका लागि बजेट व्यवस्थापन गर्ने र आगामी वर्षको कार्यक्रममा पनि राख्ने प्रतिवद्धता व्यक्त गरेको कुरा निकुञ्जका महानिर्देशक डा.खरालले बताए ।
मन्त्री आलेले बाघ, हात्ती लगायतका वन्यजन्तुबाट पीडित परिवारका लागि राहत तथा अरु सहयोगमा गर्न सरकारले कहिल्यै कन्जुस्याई नगर्ने र आगामी वर्षको बजेटमा यसका लागि यथेष्ट बजेट विनियोजन गरिने बताए ।
मन्त्री आलेले बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण पछि आइतवार रारा राष्ट्रिय निकुञ्जको अवलोकन गरी त्यहाँका समस्या समाधानका लागि छलफल गर्ने भएका छन् ।