नरभक्षी बाघ १० मिनेटमा पर्यो फन्दामा

काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जमा आइतवार साँझ हात्ती माउतेलाई आक्रमण गर्ने ज्यानमारा बाघ राती नै निकुञ्जले नियन्त्रणमा लिएको छ ।

बर्दियामा यही १८ गतेदेखि हात्तीको माध्यमबाट गैँडा गणना भइरहेको छ । आइतवार निकुञ्जको पश्चिमी गैँडा मचान क्षेत्रमा गणना भइरहेको थियो । गणना गर्ने क्रममा साँझ ५ः३० बजेतिर हात्ती माउते पुलिसराम चौधरीको ज्यान लिएर नरभक्षी बाघ जंगलतर्फ भागेको थियो ।

सो घटनापछि निकुञ्ज प्रशासन, बर्दिया स्थित राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेना तिनै वटै निकाय सक्रिय भएका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठ, बर्दिया स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. रबिन कडरिया र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाका देवीदत्त गणका प्रमुख दिनेश कार्कीको नेतृत्वमा खटिएको संयुक्त टोलीले मृतक चौधरीको शबलाई सुरक्षित उद्धार गरेको थियो भने तत्काल ‘डार्ट’ टोलीलाई सक्रिय पारिएको थियो ।

प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार राती नै नरभक्षी बाघ घटनास्थल तर्फ फर्केर आएपछि निकुञ्ज र कोषको प्राविधिक टोलीले बाघलाई डार्ट गर्न सफल भएको थियो ।

डार्टमा संलग्न प्राविधिकका अनुसार बाघ फेरी घटनास्थलतर्फ आएको थाहा पाएपछि तयारी अवस्थामा रहेको टोलीले १० मिनेटभित्रै बाघलाई नियन्त्रणमा लिन सफल भएको हो । नियन्त्रणमा लिएको बाघ समस्याग्रस्त बाघ भएको निकुञ्ज प्रमुख श्रेष्ठले बताए । समस्याग्रस्त यो बाघको उमेर कम्तिमा १० वर्षको अनुमान गरिएको छ । बाघको शरिरमा चोट पनि लागेको देखिन्छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा.रबिन कडरियाले भने, यो बाघलाई हामीले पहिलेदेखि नै नोटिसमा राखेका थियौँ । थुप्रै घटनामा क्यामरा ट्रयापमा परेको यो बाघले धेरै ठाउँमा नोक्सानी पारिसकेको थियो ।

बाघलाई जावलाखेल ल्याइने

यस अघि बर्दियामा नियन्त्रणमा लिएर एउटा नरभक्षी बाघ बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेपछि नियन्त्रण लिएपछि पनि बाघ झन समस्याको रुपमा आउन थालेका छन् । त्यसैले यो बाघलाई बर्दिया तथा बाँकेमा राख्नुभन्दा जावलाखेलस्थितको राष्ट्रिय प्रकृति संरक्षण कोषको चिडियाखानामा ल्याइने भएको छ ।

नियन्त्रणमा लिइएको यो बाघलाई सोमवार नै काठमाडौँ ल्याइने तयारी भइरहेको निकुञ्ज प्रमुख श्रेष्ठले जानकारी दिए ।

निकुञ्ज भित्र पर्यटकलाई रोक

आइतवार राती यो घटना भएपछि बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्यटकलाई प्रवेशमा रोक लगाइएको छ । निकुञ्जले आइतवार राती नै एक सूचना जारी गरी सोमवार निकुञ्जभित्र हुने पर्यटकीय गतिविधि पूर्ण रुपले बन्द गरेको बताएको छ ।

यही चैत ३ गते मंगलबारका दिन निउरो टिप्न गएकी एक महिलालाई बाघले आक्रमण गरी मृत्यु भएपछि निकुञ्जभित्र पर्यटकलाई पैदल हिडडुल गर्न रोक लगाइएको थियो । पर्यटन व्यवसायी तथा होटल व्यवसायीलाई निकुञ्जभित्र जीप सफारी सञ्चालनलाई मात्र अनुमति मात्र दिइएको थियो । निकुञ्जले सूचना जारी गरी हाललाई सोमवार भने जीप सफारीलाई पनि बन्द गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here