पर्वतीय एजेण्डा विश्वव्यापी भइसक्यो : सचिव डा. कँडेल

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले नेपालले उठाउँदै आएको पर्वतीय मुद्धा विश्वव्यापीकरण भइसकेको बताएका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवस २०२१ का अवसरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि रुपमा सम्बोधन गर्दै सचिव डा. कँडेलले पर्वतीय जैविक विविधता, अर्थव्यवस्था तथा जनजीवनका सवाललाई नेपालले विगत लामो समयदेखि उठाउँदै आएको र जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनपछि यसले विश्वव्यापी रुपमा मान्यता पाएको बताएका छन् ।

उनले भनेका छन्, जलवायु परिवर्तन र पर्वतीय पर्यटनको मुद्धालाई एक साथ अघि बढाउनुपर्छ । दीगो पर्यटन विकासका लागि पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलाई कम अन्दाज गर्नु हुँदैन । जलवायु परिवर्तनको विषय सम्बोधन भएमात्रै दीगो पर्यटन विकासको सम्भावना बढ्छ ।

सन् २००२ बाट संयुक्त राष्ट्र संघले डिसेम्बर ११ का दिनलाई अन्तर्राष्ट्रिय पर्वतीय दिवसका रुपमा मनाउँदै आएको छ । नेपाल लगायतका पर्वतीय देशमा यो दिवस बिभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ ।

सचिव डा. कँडेलले भने, पर्वतीय पर्यटन विकासको मुद्धा दीर्घकालिन विषय हो । धेरै समस्याले गाँजिएको पर्वतीय क्षेत्र र त्यसमा दीगो पर्यटन विकास गर्ने विषयलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने प्रमुख चुनौती हो । यो विषयमा नेपाल सरकार गम्भीर छ ।

नेपालमा आयोजित सो कार्यक्रममा राष्ट्रपति चुरे तराई विकास समितिका अध्यक्ष डा. किरण पौडेलले यस वर्षको नारा अनुसार पर्वतीय क्षेत्रमा दीगो पर्यटनको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन, अनुसन्धान हुनुपर्ने र त्यसै अनुरुप कार्यक्रम सञ्चालन हुनु पर्ने बताए ।

उनले हिमाल देखि टापु देशसँग पर्वतीय विषयलाई जोड्न सके मात्र पर्वतीय क्षेत्रको समग्र विकास हुन सक्ने बताए ।

पर्वतीय क्षेत्रमा दीगो पर्यटन विकास बारे सन्तोष नेपाल, डा. रामचन्द्र कँडेल, धनञ्जय रेग्मी, डा.महेश्वर ढकाल, धनञ्जय पौडेल लगायतले पर्वतीय क्षेत्रका दीगो पर्यटन विकासका लागि गर्नुपर्ने विषयमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here