सगरमाथामा गस्ती बढ्यो, चोरीशिकार घट्यो

नाम्चे । यस पटकको हिउँदभरी अघिल्ला वर्षको तुलनामा बढी हिमपात र वर्षा भयो । हिमपात र वर्षा भएको मौका छोपी वन्यजन्तुको चोरीशिकार गर्ने गिरोह सक्रिय हुने गर्छन् ।

विशेष गरी हिमाली क्षेत्रमा कस्तुरीको चोरी शिकार यस्तै बेला बढी हुने गरेको विगतका धेरै घटना छन् ।

यस पटक भने हिमपातका बेला पनि निकुञ्जले गस्ती बढाउँदा, सुराकी परिचालन गर्दा र मध्यवर्ती क्षेत्रमा स्थानीय समुदाय चनाखो भइदिदा सगरमाथा राष्ट्रिय निकुञ्जमा चोरीशिकारका घटना नभएको निकुञ्जले जनाएको छ ।


भूमिराज उपाध्याय

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार निकुञ्जको मूख्य कार्यालय र सेक्टर तथा रेञ्ज पोष्टबाट नियमित रुपमा संयुक्त गस्ती बढाउँदा र स्थानीय समुदायलाई समेत सचेत गराउँदा चोरी शिकारका घटना हुन नपाएको हो ।

‘विगतमा विशेष गरेरे हिमपातको मौका छोपी वन्यजन्तु तथा जडीबुटीको चोरी हुने गथ्र्याे । तर यस पटक हामी सक्रिय हुँदा त्यस्ता घटना हुन पाएनन्’, उपाध्यायले भने ।
निकुञ्जको मुख्य कार्यालयबाट लामो तथा छोटो अवधिमा यो हिउँदमा टिमुरघारी, तोबडाँडा, टाँसिलुङ्ग, झारक, लाप्चा दोभान, कालापानी पाखासम्मको संयुक्त गस्ती गरिएको छन् ।

गस्तीका क्रममा झारल, चिलिमे, डाँफेको दृश्यावलोकन गरी तिनको रेकर्ड राख्ने काम पनि भएको छ । त्यसैगरी खुम्जुङ रेञ्जपोष्टबाट स्याङ्बोचे, इतिकपुङ, लाप्चा, ग्याह्मा क्षेत्र, खुम्जुङ क्षेत्र वरीपरी लगातारको गस्ती हुँदा कस्तुरी, झारल लगायतका वन्यजन्तु प्रशस्त देखिएका निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताए ।

निकुञ्जको चौरीखर्क रेञ्जपोष्ट अन्तर्गत स्थानीय समुदायको सहभागितामा नेपाली सेना, निकुञ्ज कर्मचारीले हिउँका कारण समस्यामा परेका वन्यजन्तुको उद्धार समेत गरेको छ । सो क्षेत्रमा मुसे, शेर्पाथोक, लुक्ला, दुधकुण्ड क्षेत्रमा नियमित गस्ती गरिएको थियो । यो क्रम हालसम्म पनि जारी रहेको निकुञ्जले जनाएको छ ।

जोरसल्ले पोष्ट र टान्सिङा पोष्टबाट भएका नियमित गस्तीले लंगुर, झारल, कस्तुरी, कालिज, डाँफे लगायतका वन्यजन्तु देखेको निकुञ्ज कार्यालयले जनाएको छ । यो क्षेत्रमा यहाँका स्थानीय समुदायको पनि सहभागिता रहेको थियो । गस्तीका क्रममा स्थानीय समुदायसँग निकुञ्ज र नेपाली सेनाले संरक्षण सम्बन्धी अन्तक्रिया र छलफल पनि चलाएको थियो ।

निकुञ्जको देबुचे पोष्ट र फुर्ते पोष्टको क्षेत्रमा पनि हिउँपात भएको समयमा पनि नेपाली सेनासँग संयुक्त गस्ती बढाएको निकुञ्जले जनाएको छ । गस्तीका क्रममा आपतमा परेका वन्यजन्तुको उद्धार पनि गरिएको थियो ।

सो क्षेत्रको त्याङबुचे, देबुचे, मिलिङो, बमाका क्षेत्र, फुर्ते जंगल क्षेत्र, किसाकुना जंगल, पारे वन क्षेत्र लगायतका ठाउँमा लामो समय र छोटो समयको गस्ती गर्दा लुइचे, कस्तुरी, डाँफे, झारल लगायतका वन्यजन्तु प्रशस्त देखिएका रेकर्ड निकुञ्जले राखेको छ ।

त्यसैगरी डोले पोष्ट अन्तर्गतको फोर्चे जङ्गल क्षेत्र, डाठे मछेर्मा, डोले जङ्गल तथा न्यूते क्षेत्रमा भएको दर्जनौँ गस्तीमा झारल, कस्तुरी, चिलिमे, डाँफे लगायतका चराचुरुङ्गी तथा दुर्लभ वन्यजन्तु देखा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here