काठमाडौं । बर्दियाका चराहरुका बारेमा समग्र जानकारी समेटिएको कृति ‘बड्ज अफ बर्दिया’ प्रकाशित भएको छ ।
चराहरुका विषयका जानकार कैलालीका हिरुलाल चौधरी, बर्दियाका रामबहादुर शाही र बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामद्वारा लिखित सो कृति सार्वजनिक भएको छ ।
चरा अवलोकनका लागि निकै लोभ लाग्दो बर्दिया राष्ट्रिय निकुञ्ज र वरीपरीका सिमसार क्षेत्रहरुमा पाइने चराहरुको विवरण सो कृतिमा संलकन गरिएका छन् ।
कृतिमा बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ, अति संकटापन्न चराहरुको तस्विर सहित चराको स्थानीय समुदायले बोलाउने तथा चिन्ने गरेको नाम, वैज्ञानिक नाम, नेपाली नाम, बास्थानको अवस्था तथा क्षेत्र, आइयूसिएन सूची र नेपालमा सम्बन्धित चराको अवस्था लगायतका सूचनाहरु समेटिएका छन् ।
त्यसैगरी खाता जैविक मार्ग, कृष्णसार संरक्षण क्षेत्र, बढैया ताल क्षेत्र, सतखोलुवा ताल क्षेत्र, तेलपानी तथा चुरे क्षेत्र, कर्णाली चिसापानी क्षेत्र र कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा पाइने चराहरुको विस्तृत जानकारी सो कृतिमा समेटिएको छ ।
कर्णाली नदीको समिपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्र तथा तालतलैयामा संसारमै दुर्लभ र अति संकटापन्न अवस्थामा रहेका चराहरु आश्रय लिने गरेका छन् । चरा अवलोकनका लागि निकै लोभ लाग्दो बर्दिया राष्ट्रिय निकुञ्ज र वरीपरीका सिमसार क्षेत्रहरुमा पाइने चराहरुको विवरण सो कृतिमा संलकन गरिएका छन् ।
कतिपय साइवेरियन चराहरुले समेत बच्चा कोरेल्ने गरेको यो क्षेत्रमा जलवायु परिवर्तनको असरसँग साइवेरियन चराहरु पनि यहाँका रैथाने पंक्षी जस्तै बस्न थालेका छन् ।
कृतिकार हिरुलाल चौधरीले नेपालकथासँग भने, बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्र जलपंक्षीका लागि निकै महत्वपूर्ण बासस्थान मानिन्छ । जलपंक्षी सम्बन्धी अध्ययन गर्ने जोकोहीका लागि यहाँ सहज हुने गर्छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा. अशोकका अनुसार कृतिमा धेरै पंक्षीहरुको जानकारी समेटिएकाले बर्दिया र आसपासका क्षेत्रमा पाइने पंक्षीका बारेमा जानकारी लिने, अध्ययन गर्ने व्यक्तिलाई कृतिले सहयोग पुर्याउने विश्वास लिइएको छ ।
कृति प्रकाशन गर्न लुम्बिनी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय, बर्दिया राष्ट्रिय निकुञ्ज, पंक्षी संरक्षण संघ र उज्यालो नेपालले सहयोग गरेका छन् ।
























