काठमाडौँ । भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा राजधानी काठमाडौँमा रहेको भारतीय राजदूतासमा औपचारिक कार्यक्रम आयोजना गरियो भने प्रदेश २ मा भने हरेक जिल्ला तथा सीमा जोडिएका हरेक स्थानीय तहमा पनि सो दिवसका अवसरमा बिभिन्न कार्यक्रम सञ्चालन भएका छन् ।
नेपाल भारत मैत्री संघ, नेपाल भारत मित्रता संघ, नेपाल भारत व्यापार संघ लगायतका दर्जन भन्दा बढी संघ, संस्थाका नाउँमा प्रदेश २ मा आयोजना गरिएका हुन् । यद्धपी भारतसँग सीमा जोडिएका प्रदेश १, प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भने खासै केही कार्यक्रम आयोजना गरिएका छैनन् । दुई देशको सम्बन्धका बारेमा सीमा जोडिएका प्रदेशले मात्र मनाउनु पर्ने कुनै बाध्यात्मक अवस्था नरहेता पनि अरु प्रदेशले भारतको ७० औँ गणतन्त्र दिवसलाई महत्व नदिएपनि प्रदेश २ अन्तर्गतका जिल्ला तथा स्थानीय तहले भने दर्जनौँ कार्यक्रम सञ्चालन गरेका छन् ।
कार्यक्रममा बोल्ने सबै वक्ताहरुले भारतसँग रोटी र बेटीको सम्बन्ध भएकोमा जोड दिइएको थियो । कार्यक्रममा केही वर्ष अघि भएको अघोषित नाकाबन्दीका बारेमा भने चर्चा नभएको भन्दै रौतहटस्थित एक कार्यक्रमका वक्ता राष्ट्रिय प्रजातन्त्र पार्टी सर्लाहीका अध्यक्ष प्रभाकर सिंहले असन्तुष्टि जनाउनुभयो ।