फलफूल खेती विस्तार गरिदै

काठमाडौं । वर्षेनी अबौँ मूल्य बराबरको फलफूल आयात गरिरहेको नेपालमा सरकारले सार्वजनिक तथा निजी जग्गामा फलफूल खेतीको प्रक्रिया अगाडि बढाएको छ । फलफूलको क्षेत्रफल विस्तार गरी व्यावसायिक उत्पादन प्रवद्र्धनको माध्यमबाट आयात प्रतिस्थापन गर्ने उद्देश्यका साथ कार्यक्रम शुरु गर्न लागिएको हो ।
चालू आर्थिक वर्षबाट पहिलोटक १५ जिल्लामा नमूनाका रुपमा कार्यक्रमको शुरु गर्न लागिएको हो । राष्ट्रिय फलफूल विकास केन्द्रअन्तर्गत सञ्चालन हुने यस कार्यक्रमले निजी क्षेत्रमा ठूलो स्केलमा फलफूल खेती गर्नेलाई विभिन्न चरणमा सहयोग समेत गर्नेछ । सार्वजनिक तथा निजी जग्गामा फलफूल खेती गर्नका लागि सार्वजनिक तथा निजी जग्गामा फलफूल खेती विस्तार कार्यक्रम सञ्चालन निजी जग्गामा फलफूल खेती विस्तार कार्यक्रम सञ्चालनका गर्नका लागि यो वर्ष ओखलढुङ्गा जिल्लामा अनार, कपिलवस्तु, रौतहट, सर्लाही र महोत्तरीमा आँप, लिची, अर्घाखाँची, भोजपुर र सुनसरी जिल्लामा कागती, रामेछाप, सोलुखुम्बु, रुकुम पश्चिम र मकवानपुर जिल्लामा किवी, कैलाली, तनहूँ र पर्वत जिल्लामा सुन्तला खेतीका लागि केन्द्रले सहयोग गर्ने भएको छ ।
सार्वजनिक तथा निजी जग्गामा फलफूल खेती विस्तार गरी पर्यावरणीय सुधार एवं उत्पादन अभिवृद्धिमार्फत् आयात प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन गर्ने कार्यमा ठोस योगदान गर्ने उद्देश्यले नयाँ कार्यक्रमको शुरुआत गरिएको कार्यविधिमा उल्लेख गरिएको छ ।
कृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले ठूलो परिमाणमा फलफूल आयात भइरहेको उल्लेख गर्दै यस्तो आयातलाई कम गर्न सार्वजनिक तथा निजी जग्गामा फलफूल खेती कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । उहाँले फलफूल खेतीका लागि तुलनात्मक रुपमा कम मिहिनत पर्ने भएको हुँदा बाँझो रहेका जग्गाको उपयोग बढाउन फलफूल खेती गर्न सकिने बताउनुभयो । यस्ता कार्यक्रमबाट युवा स्वरोजगारीको वृद्धि हुनसक्ने सङ्केत गर्दै प्रवक्ता सुवेदीले भन्नुभयो–“व्यावसायिकरुपमा काम गर्ने किसानलाई नै सहयोग गर्ने हो, अधिकांश युवाको नै सहभागिता हुन्छ ।”
कार्यविधिमा सार्वजनिक र निजी जग्गाको हकमा फरक तरीकाले कार्यक्रम अगाडि बढाइने प्रावधानको व्यवस्था गरिएको छ । उक्त प्रावधानअनुसार सार्वजनिक जग्गामा फलफूल खेती विस्तार कार्यक्रम अन्तर्गत सार्वजनिक जग्गाको उपयुक्त खाली क्षेत्रमा फलफूल खेती विस्तार गरिनेछ । जसअन्तर्गत सिंहदरवार तथा मन्त्री आवास क्षेत्र हरिहरभवन लगायत तोकिएका सार्वजनिक स्थलमा विभिन्न राष्ट्रिय दिवसमा फलफूलको बिरुवा रोप्ने कार्यक्रम रहेको छ । राष्ट्रिय फलफूल विकास केन्द्र प्रमुख डा.रमिता मानन्धरले सार्वजनिक जग्गामा विभिन्न राष्ट्रिय दिवसको अवसर पारी सिंहदरवारलगायतका सार्वजनिक क्षेत्रमा फलफूलका विरुवा रोपिने जानकारी दिनुभयो । निजी जग्गामा फलफूल खेतीका लागि परेका प्रस्तावमध्येबाट २५ वटा प्रस्ताव छनौट भइसकेको र सबैभन्दा बढी किवी खेतीका लागि प्रस्ताव आएको बताउनुभयो । फलफूल खेतीका लागि एउटै ठाउँमा कम्तिमा १० हेक्टर जग्गा हुनुपर्ने प्रावधान राखिएको उल्लेख गर्दै उहाँले भन्नुभयो–“बाँझो जग्गाको उपयोग होस् भन्ने हाम्रो उद्देश्य हो ।”
केन्द्रले फलफूलको बगैचा क्षेत्र विस्तार, कृषि औजार उपकरण, माटोलगायतका अन्य परीक्षण सेवा, र सिँचाइका लागि सहयोग गर्ने भएको छ । बगैंचा रेखाङ्कनका लागि आवश्यक सामग्री, खाडल खन्न, विरुवा व्यवस्थापन, मलखाद, विरुवालाई टेको पाइप तथा तार फिटिङ्ग, कृषि औजार सिँचाई पाइप, विरुवा तथा सामग्री ढुवानीलगायतमा केन्द्रले निजी क्षेत्रमा फलफूल खेती गर्नेलाई सहयोग गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here