जोखिम मोलेर जलविद्युत् निर्माण

रुकुम (पश्चिम) । जिल्लाको सानीभेरी गाउँपालिका –६ स्थित देउताखोला–मुसीगार लघु जलविद्युत् आयोजना निकै जोखिम मोलेर निर्माण भइरहेको छ । ठूलो पहरामा विद्युत् आयोजनाको नहर निर्माण गर्नुपर्ने भएकोले काम जोखिमपूर्ण भएको हो ।
मुहानदेखि पावर हाउससम्मको ८८६ मिटरको नहर क्षेत्रमा १५० मिटर पहरा मात्र रहेको आयोजना निर्माण समितिका अध्यक्ष पहलसिंह घर्तीमगरले जानकारी दिनुभयो । ‘पहरामा ड्रिल मेसिनले प्वाल पारेर ठूल्ठूला पाइप अड्याउनुपर्नेछ ।’ उहाँले भन्नुभयो, ‘ढुङ्गा खोल्न गाह्रो, पाइप समेत गहुँगो हुँदा काम गर्न समस्या भएको छ ।’ समस्याका बाबजुत दक्ष जनशक्ति परिचालन गरेर कामलाई तीब्रता दिइएको उहाँले बताउनुभयो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा निर्माणाधीन उक्त आयोजनाबाट १३ किलोवाट विद्युत् उत्पादन हुने बताइएको छ । जसबाट यहाँका २३५ घरधुरी लाभान्वित हुने अध्यक्ष घर्तीले बताउनुभयो ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ३८ लाख ९९ हजार रुपियाँ सहयोगमा यो आयोजना निर्माण भइरहेको छ । आगामी चैत मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको उक्त आयोजनामा कूल लागतको ४० प्रतिशत श्रमदान गर्नुपर्ने व्यवस्था छ । श्रमदान अन्तर्गत स्थानीयले सामान ढुवानी, नहर तथा पावर हाउस भवन निर्माणलगायतका काम गरिरहेको अध्यक्ष घर्तीको भनाइ छ ।
साभार ः गोरखापत्र

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here