काठमाडौँ । साहसिक पर्यटक भित्र्याउने उद्देश्यसहित नेपालमा पहिलोपटक ‘आइस क्लाइम्ङि’ महोत्सव हुने भएको छ ।
अत्यधिक चिसोका कारण बग्ने पानी अर्थात झरना जमेपछि त्यसैमाथि चढेर मनाइने यो महोत्सवलाई नेपाल क्लाइम्बिङ् टिम (एनसीटी)ले आयोजना गर्न थालेको हो । मनाङ जिल्लाको हुम्देमा यहिं माघ १९ देखि २६ गतेसम्म आयोजना हुने उक्त महोत्सवमा देश तथा विदेशी पर्यटकले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
आइस क्लाइम्बिङ् विशेषतः युरोप र अमेरिकी मुलुकमा प्रसिद्ध पर्यटकीय गतिविधि हो । हिमाल आरोहणको देशको रुपमा परिचित नेपालमा हिउँ माथी चढेर गर्न सकिने अर्को गतिविधिका रुपमा आइस क्लाइम्बिङ् महोत्सव गर्न लागेको आयोजक एनसीटीका बोर्ड सदस्य पासाङ् नोर्बु शेर्पाले जानकारी दिनुभयो । विगत चार बर्षको निरन्तर अध्ययन अनुसन्धान पछि महोत्सव गर्न लागिएको उहाँले बताउनुभयो । महोत्सवमा आइस क्लाइम्बिङ्सहित यो कामका लागि आवश्यक प्राविधिक ज्ञानसहित तालिम समेत दिइने भएको छ ।
हिउँदको समयमा पनि नेपालमा पर्यटकीय गतिविधि सञ्चालन गर्ने र त्यसमा आबद्ध व्यक्तिलाई निरन्तर रोजगारी उपलब्ध गराउने उद्देश्य महोत्सवको आयोजना गरिएको हो ।