कालीमाटीका तरकारी व्यापारीलाई कारवाही गर्ने तयारी

काठमाडौँ । कालोबजारी गर्ने र उपभोक्तालाई लागत भन्दा दशौँ गुणा बढी मूल्य लिने तथा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बजारको नियम विपरित व्यापार गरेर रातो सूचीमा परेका १७ जना व्यापारीलाई कारवाही गरिने भएको छ ।
समितिका अनुसार गत असोजमा कालीमाटी र बालाजुको तरकारी बजारमा बढी मूल्य लिने र बजारको नियम विपरित व्यापार गर्ने ५७ जना व्यापारीको कारोबार खारेज गर्ने निर्णय गरेको थियो । तीमध्ये २७ जना व्यापारीले समितिको निर्णयविरूद्धमा अदालतमा गरेको मुद्दा विचारधिन अवस्थामा छ भने १३ जनाको मुद्दा जिल्ला अदालतमा विचारधिन अवस्थामा छ । बाँकी १७ जनालाई बजारबाट हटाउनका लागि पटक पटक निर्देशन दिए पनि व्यापारीले अटेर गरेर व्यापार गरिरहेका छन् ।

कृषि तथा पशुपछी विकासमन्त्री, राज्यमन्त्री सचिवलगायतका पदाधिकारीबाट पटकपटक भएको बजारको अनुगमन र निर्देशनपछि समितिले समितिअन्तरगतका ६०७ वटा व्यापारीलाई वर्गीकरण गरेको थियो । जसअनुसार ९८ जना व्यापारीलाई रातो स्टिकर, १३१ व्यापारीलाई निलो स्टिकर, २०८ व्यापारीलाई पहँेलो र १७० व्यापारीलाई सेतो स्टिकर उपलब्ध गराएको थियो ।
कृषि तथा पशुपछी विकास मन्त्रालयका सहसचिव एवम समितिका अध्यक्ष तेजबहादुर सुवेदीले अदालतमा गएको हकमा अदालतको निर्णय पर्खिने र बाँकी १७ जनालाई छिट्ठै कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो ‘उहाँहरूलाई सम्मानपूर्वक जानका लागि पटक पटक सूचना वा पत्रमार्फत आग्रह ग¥यो अब प्रशासनिक कारबाहीबाटै हटाउछौँ ।’
समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले कृषि तथा पशुपछी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भएका निर्देशन बमोजिम बजारको सुधारका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार सुधार कार्यक्रमअन्तरगत विल विजक कार्यान्वयन तथा कारोबार अभिलेख गर्नका लागि सम्पूर्ण इजाजत प्राप्त व्यवसायीलाई नौ चरणसम्म तालिम सञ्चालन गरिएको, समिति परिसरभित्र नाप तौल तथा गुणस्तर कार्यालयबाट नापतौल सामग्रीको जाँच तथा प्रमाणिकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here