चितवन । न धेरै चिसो न गर्मी नै लागि सकेको । तराईको यो सुन्दर मौसम र वातावरण घुमघाम गर्ने जो कोहीका लागि निकै रमणीय र आकर्षक मानिन्छ । यो मौसममा नारायणी नदी किनारका होटल, रिसोर्टहरु आन्तरिक र बाह्य पर्यटकले भरिभराउ भएका छन् । पूर्वी नवलपरासीको दक्षिणी भागमा चितवन राष्टिय निकुन्जको अवलोकन गर्ने गरि बनाइएका होटल रिसोर्टमा विदेशी एवम् स्वदेशी पर्यटकको बाक्लो आगमनले यहाँका होटल व्यवसायी निकै उत्साहित भएका छन् । नवलपरासी पर्यटन संघका जिल्ला उपाध्यक्ष डि.वि.चौधरीले बताउनुभयो ।
नवलपुर क्षेत्रको दक्षिणी सिमा क्षेत्रमा रहेको नारायणी नदिमा निर्माण गरिएका करिब डेढ दर्जन होटल रिसोर्टमा नारायणी किनाराबाट चितवन राष्टिय निकुन्जका बन्यजन्तु एवं प्राकृतिक सौन्दर्यताको अवलोकनका विदेशी पर्यटकहरुको बाक्लो संख्यामा आउने गरेका छन् ।
पूर्वी नवलपरासीको पूर्वपश्चिम लोकमार्गदेखि दक्षिणी क्षेत्रमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका सुविधा सम्पन्न होटल रिसोर्टको स्थापनाको क्रम पनि बढेसँगै स्वदेशी एवं विदेशी पर्यटकको आगमनको क्रम पनि बढ्दै गएको नवलपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष हरिश पोखरेलले बताउनुभयो ।
पूर्वी नवलपरासीको पूर्वपश्चिम लोकमार्गदेखि दक्षिणतर्फको भागमा नारायणी किनारा वा चितवन राष्ट्रिय निकुन्जको उत्तरी भागमा पर्ने गरि खोलिएका होटल रिसोर्ट मध्ये थारु भिलेज रिसोर्ट, टेम्पल टाइगर ग्रीन जंगल रिसोर्ट, आईल्यांड जंगल रिसोर्ट, मचान कन्ट्री भिल्ला, पार्क भिउ रिसोर्ट, थारु हेरिटेज, नारायणी रिसोर्ट, थारु ब्रेज रिसोर्ट, पार्क भ्यू रिसोर्ट, अमलटारी होमस्टे, पिप्रहर होमस्टे, बरौली होमस्टेलगायतका करिब डेढ दर्जनभन्दा धेरै होटल, रिसोर्ट एवं होमस्टे सञ्चालनमा रहेका नवलपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष पोखरेलले बताउनुभयो ।
काठमाडौ, पोखरा, बुटवल, वीरगञ्ज, विराटनगर लगायतका शहरबाट आन्तरिक पर्यटकहरु आउने गरेका छन् भने विदेशबाट अमेरिका, ब्राजिल, अष्टे«लिया, फ्रान्स, डेनमार्क, ईटली, स्वजरल्यांड, जर्मनी, स्पेन, जापानलगायतका देशबाट समेत पर्यटकहरु आउने क्रम बढदै गएकोले व्यवसायी बढी उत्साहित भएका छन् ।