बढ्यो सौर्य ऊर्जामा आकर्षण


काठमाडौँ । बागलुङ नगरपालिकाले नगर क्षेत्रका ५८ धार्मिक संस्थामा सौर्य ऊर्जा जडान गरेको छ ।
नगरमा रहेका सबै धार्मिक संस्थालाई उज्यालो बनाउने अभियानअन्तर्गत चालू आर्थिक वर्षमा ५८ धार्मिक संस्थामा सौर्य ऊर्जा जडान गरेको हो । स्थानीय विकास मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र स्थानीय उपभोक्ताको संयुक्त लगानीमा त िसंस्थामा सौर्य ऊर्जाको जडान गरिएको हो ।
नगर क्षेत्रभित्र रहेका ७५ धार्मिक संस्थामध्ये सौर्य ऊर्जा जडान गर्न बाँकी रहेका १७ संस्थामा समेत जडानका लागि पहल भइरहेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । धार्मिक संस्थामा भक्तालुको आवतजावत बढी हुने भएकाले सुरक्षाका दृष्टिकोणले पनि सौर्य ऊर्जाको आवश्यकता महसुस गरिएको हो ।
मठ, मन्दिर, चैत्य, गुम्बा र मस्जिदलगायतका धार्मिक संस्थामा सौर्य ऊर्जा जडान भएका छन् । रु ५० लाख खर्चेर जडान भएका सौर्य ऊर्जाका कारण धार्मिक संस्थाको रुप नै परिवर्तन भएको छ । बागलुङकै काठेखोला गाउँपालिकाले अधिकांश स्वास्थ्य संस्थामा सौर्य ऊर्जा जडान गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा छ वटा स्वास्थ्य संस्थामा सौर्य ऊर्जा जडान गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो ।
सबै स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवामा अनियमित विद्युत् कटौतीका कारण समस्या नहोस् भनेर सौर्य ऊर्जा जडान गरिएको हो । एक किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरेपछि विद्युत्को महशुल भुक्तानीको दायित्वसमेत कम भएको थापाले बताउनुभयो ।
गाउँपालिकाका केही विद्यालयमा समेत सौर्य ऊर्जा जडान भएका छन् । सौर्य ऊर्जाका कारण विद्यालयलाई धेरै सहज भएको अध्यक्ष थापाको महसुस छ । गाउँपालिकाले यस वर्षको बजेटमा सौर्य ऊर्जाका लागि सशर्त अनुदान पाएको झण्डै रु चार लाख बजेट सडक बत्तीमा खर्च गर्ने योजना बनाएको छ । मानिसको आवतजावत धेरै हुने सडकका चोकको पहिचान गरी सौर्य बत्ती जडान गर्ने योजनामा रहेको पनि थापाले जानकारी दिनुभयो ।
जिल्लाको जैमिनी नगरपालिकामा पनि छ वटा विद्यालय र दुई स्वास्थ्य संस्थामा सौर्य ऊर्जा जडान भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा र स्वास्थ्यचौकी अर्जेवामा जडान भएको सौर्य ऊर्जाका कारण सेवा प्रवाहमा सहज भएको जैमिनी–६ अर्जेवाका स्थानीयवासी केशव शर्माले बताउनुभयो । सौर्य ऊर्जा जडान गरेर विद्यालयले निर्वाधरुपमा कम्प्युटर, प्रिन्टरदेखि हाजिर गर्ने मेशिनसम्मका प्रविधि चलाइरहेका छन् ।
जिल्लाको ताराखोला गाउँपालिकाले गाईघाट झरना र तिनचुलेमा रहेको मन्दिरमा सौर्य ऊर्जा जडान गरेको छ । पर्यटकको आवतजावत धेरै हुने स्थानको सुरक्षा तथा धार्मिक संस्थामा रहेका पौराणिक महत्वका वस्तुको सुरक्षाका लागि सौर्य ऊर्जा जडान गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।
जिल्लामा रहेका गाउँपालिका तथा नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउने सशर्त बजेट र आफ्नो आन्तरिक बजेटबाट समेत धार्मिक तथा सार्वजनिक संस्थामा सौर्य ऊर्जा जडानको कामलाई प्राथमिकतामा राख्न थालेका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले उपभोक्ताको ४० प्रतिशत लगानी र केन्द्रको ६० प्रतिशत अनुदान सहयोगमा विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिकस्थललगायतका स्थानमा सौर्य ऊर्जाको जडान गरिरहेको भए पनि आन्तरिक स्रोतको परिचालन र प्रवद्र्धन केन्द्रको कार्यक्रमलाई समेत सघाउने गरी योजना बन्न थालेको काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा बताउनुहुन्छ । सौर्य ऊर्जाका कारण विद्युत्को अनियमित आपूर्ति र पहुँच नै नभएका सार्वजनिक स्थलमा उज्यालो पु¥याउने काम भइरहेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here