काठमाडौँ । काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल पहिलोपटक आरोहणका लागि प्रयास हुन थालेको छ ।
सगरमाथा आरोही माया गुरुङको नेतृत्वको टोली जुगल हिमाल आरोहणका लागि यही चैत १५ गते त्यसतर्फ लाग्नेछ । जुगल गाउँपालिका र प्रदेश ३ को संयोजकत्वमा सिन्धु पर्यटन परिषद्ले गरेको पत्रकार सम्मेलनमा जुगल हिमाल पहिलो पटक आरोहण हुन लागेको जानकारी दिइयो । आरोहण अवधि कम्तीमा २० देखि ३० दिनसम्म हुन सक्नेछ ।
कार्यक्रममा आरोहणको नेतृत्व गरिरहेकी गुरुङले जुगल हिमाल अहिलेसम्म कसैले पनि आरोहण नगरेको जानकारी दिनुभयो । सगरमाथा आरोही गुरुङले जुगल हिमशृङ्खलामा अहिलेसम्म मानव पाइला नपुगेको ‘भर्जिन’ क्षेत्र भएकाले हिमाल आरोहणमा मात्र केन्द्रित नभएर सम्भाव्यता अध्ययन, ‘रुट’ पहिचान तथा निर्धारणलगायतका कार्यमा पनि केन्द्रित हुने जानकारी दिनुभयो । उहाँका अनुसार सो टोलीमा पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गेका नाति, पर्वतारोहण विज्ञसहित सातजना समावेश हुनेछन् ।

जुगल हिमशृङ्खलामा दुई दर्जन बढी हिमचुचुरा रहेको प्रारम्भिक अध्ययनले देखाएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले जुगल हिमाल आरोहणका क्रममा पुगिने नेपेमाशाल धार्मिक दृष्टिले पवित्र स्थान भएको बताउनुभयो ।
सो स्थानमा बौद्ध धर्मका गुरु पद्मसम्भवले ध्यान गरेको तथा भविष्यमा हुन सक्ने विभिन्न परिघटनाका भविष्यवाणीका लिखतहरू यस क्षेत्रमा सुरक्षित राखिएको किंवदन्ती रहेको उहाँले बताउनुभयो । अध्यक्ष श्रेष्ठले नेपेमाशाल नजीकै रहेको ब्रह्मायणी नदी, हरियाली जङ्गल, जङ्गलमार्गमा रहेको हजार जना अट्ने गुफा र त्यसैको आडमा रहेको जुगल हिमशृङ्खलाको सुन्दरतम दृश्यले जो कोहीलाई मोहित बनाउने बताउनुभयो ।
उहाँले गाउँपालिकाले पर्यटन विकासलाई महत्व दिएर अगाडि बढेको बताउँदै छोटो समयमा र थोरै खर्चमा पदयात्रा जान चाहनेका लागि जुगल उत्कृष्ट गन्तव्य हुनसक्ने जानकारी दिनुभयो । श्रेष्ठले भ्रमण वर्ष २०२० का लागि सूचीकृत गन्तव्यका रूपमा सो क्षेत्रलाई राख्न पनि सम्बद्ध निकायसमक्ष आग्रह गर्नुभयो ।