कानून भन्दा बाहिरको काम गर्न कसैलाई छुट छैन: प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून बमोजिम बाहेकका कुनै पनि काम गर्न सरकारले छुट नदिने बताउनुभएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आइतवार फलफूल तथा तरकारी थोक बजार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पृथकतावाद समाप्त भएकाले शान्तिपूर्ण ढङ्गले देश सञ्चालनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । लोकतन्त्रको आवरणमा नेत्रविक्रम चन्द समूहले गरेका अराजक गतिविधिमा प्रतिबन्ध लगाइएको प्रष्ट पार्दै उहाँले कानूनी परिधिभित्र आफ्ना राजनीतिक क्रियाकलाप गर्न र हतियार बुझाउन सरकारले समय दिएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले कृषिप्रधान मुलुकमा राष्ट्रिय आयमा देखिएको योगदानले कृषिप्रधान देश भन्न सक्ने अवस्था नरहेको बताउँदै कृषि उत्पादन र उत्पादकत्व बढाउन आग्रह गर्नुभयो ।

उहाँले यस किसिमको बजार अन्य जिल्लामा पनि विस्तार गरिने तथा कृषि पेशालाई मर्यादित बनाउन र युवालाई यसमा समाहित गर्नका लागि कृषिको आधुनिकीकरण र यान्त्रिकीकरण गर्न सरकार लागिपरेको जानकारी दिनुभयो । “जमीन खण्डीकरणको समस्या समाधान गर्न र उत्पादन बढाउन सरकारले चकलाबन्दी खेती गर्न योजना बनाइरहेको छ, सहकारी माध्यमबाट चकलाबन्दी खेती गरी उत्पादन बढाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here