एक दिनमै बोली फेरे महामन्त्री कोइरालाले

काठमाडौँ । गणतन्त्र, संघीयता र धर्म निरक्षेपताका बारेमा होली मनाउने क्रममा काठमाडौमा पार्टी कार्यकर्तासँग जनमत संग्रह गर्नुपर्ने धारणा राखेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले २४ घण्टा बित्न नपाउँदै चितवन पुगेर बोली फेरेका छन् ।

चितवनमा प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनमा उहाँले जनआन्दोलनका उपलब्धी नै तिनै कुरा भएकाले यसको संरक्षण गर्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले भन्नुभयो, ‘गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन ।’

महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रताको पक्षमा जनमत सङ्ग्रह गर्न सकिने बताउँदै हिन्दू राज्यका विषयमा जनताले सरकारलाई दबाब दिन आवश्यक रहेको धारणा भने व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, नेपाली काङ्ग्रेसको अन्तिम बिन्दु धर्म स्वतन्त्रता नै हो । सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहलाई प्रतिबन्ध लगाउनु गलत भएको उल्लेख गर्दै उहाँले वार्ता र सम्वाद मार्फत् समस्याको सामाधान खोज्नुपर्नेमा प्रतिबन्ध लगाउनु गलत भएको व्यक्त गर्नुभयो ।

महामन्त्री कोइरालाले सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै अहिलेसम्म प्रभावकारी योजना ल्याउन नसक्नु र कुनै नीति पनि कार्यान्वयन गर्न नसक्नु सरकारको असफलता भएको व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here