लमजुङ । नेपालको सबैभन्दा ठूलो स्याउ नर्सरी कता छ भनेर सोध्यो भने मुस्ताङमा छ भन्ने उत्तर जोकोहीले पनि भन्न सक्छन् । मुस्ताङमा एउटै बारीमा पाँच लाख विरुवा उत्पादन हुने नर्सरी रहेको छ । तर कागतीको ठूलो नर्सरी गरेको ठाउँ कुन हो भन्दा अलमल पर्न सक्छ । लमजुङको सुन्दरबजार नगरपालिका १ कुन्छामा एक परिवारले डेढ लाख कागतीका विरुवा रहेको नर्सरी स्थापना गरेका छन् । सायद यही कागती नर्सरी नै नेपालकै सबैभन्दा ठूलो कागती नर्सरी हुन सक्ने अनुमान गरिएको छ । कागतीबारीका परिवारले यही नै ठूलो कागती नर्सरी भएको दावी गरेका छन् ।
सुविधा सम्पन्न मध्य तराईको चितवनबाट पुनः घर फर्केका ५५ बर्षीय गोवद्र्धन गौलीको परिवार २०० रोपनी आफ्नो जग्गा र थप २०० रोपनी जग्गा किनेर ४०० रोपनी जग्गामा कागती, सुन्तला, अदुवा, कफि खेती गर्नुका साथै कागतीको नर्सरी निर्माण गर्नुभएको छ । उहाँका अनुसार यति ठूलो संख्यामा कागतीका बोट भएको नेपालमा अरु कुनै नर्सरी छैन ।कागती विरुवाका लागि भोजपुर, धनकुटा, गुल्मी, जाँजरकोट र तनहुँबाट २० क्विन्टल कागती ल्याएर बिउ जमाएको थियो । नर्सरीमा एक दर्जन प्रजातिका कागतीको विरुवा उमारिएका छन् ।
कलमीका लागि कागतीका १३ वटा ‘मदर प्लान्ट’ रहेको ‘हाइटेक’ नर्सरी समेत स्थापना गरिएको छ । गतबर्ष कागती विरुवा विक्रीबाट १२ लाख रुपियाँ आम्दानी गरेको गौलीले बताउनुभयो । प्रतिविरुवा ४० रुपियाँमा विक्री गरिएको थियो । यसबर्ष ४० लाख रुपियाँ आम्दानी हुने उहाँले बताउनुभयो ।
बिएस्सी पास गर्नुभएको गौली १० बर्ष चितवन बसेर हाल गाउँमै पाँच करोड रुपियाँ लगानी गरिएको बताउनुभयो ।