लुम्बिनीको पार्कमा बौद्धकालीन सभ्यता

लुम्बिनी । केही समयपछि लुम्बिनी घुम्न जानु भयो भने बौद्धकालिन सभ्यता समेटिएको पार्क देख्न सक्नुहुनेछ । ती पार्कमा बौद्धकालिन मूर्ति, स्तुपा तथा अन्य सामाजिक जनजीवन समेटिएका कुराहरु राख्न थालिएपछि यो अवसर यहाँ आउने पर्यटकलाई मिल्ने भएको हो ।

रुपन्देहीको देवदहमा रहेका पार्कमा बौद्धकालीन सभ्यता झल्किने गरी चित्र र मूर्ति राखिने योजना अघि सारिएको छ । प्राचीन कोलिय गण राज्यको राजधानीका रुपमा रहेको देवदहका पार्कमा कोलिय सभ्यता झल्किने गरी मौलिक किसिमका मूर्ति र चित्र राखिने तयारी थालिएको हो ।

ड्रिम देवदह युनिटी फर चेन्जको अगुवाइमा देवदहलाई नमूना पार्कको शहर बनाउने गरी अभ्यास थालिएको अभियन्ता सिद्धिचरण भट्टराईले बताउनुभयो । “यहाँका सबै पार्कमा बौद्धकालीन सभ्यता झल्किने गरी बौद्ध कला, संस्कृतिका मूर्ति र चित्र राखिने जमर्को गरिएको छ । त्यसको लागि आवश्यक बजेटसहित काम पनि हुनेछ ।” युनिटी फर चेन्जका अध्यक्ष भट्टराईले बताउनुभयो ।

देवदह गौतमबुद्धको मावली तथा ससुराली स्थल हो । सरकारले पर्यटनको १०० गन्तव्यमा समेटेको देवदहमा पर्यटकलाई घुम्ने ठाउँ पर्याप्त नहुँदा देवदह आउने केही बेरमै फर्किन थालेपछि यहाँका अगुवाले पर्यटक भुलाउने गरी पार्क बनाउने अवधारणा ल्याएका हुन् ।
अवधारणाअनुसार प्रदेशसभा सदस्य डा कृष्ण न्यौपाने, देवदह नगरप्रमुख हीराबहादुर केसी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञद्वय यम थापा र गोविन्द चौधरी, देवदह क्षेत्रका ११ वटा विभिन्न पार्क समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कोलिय सभ्यताबारेका जानकारी बौद्ध साहित्यबाट लिइनेछ र त्यसका लागि बौद्ध विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व रहेको एक समिति बनाइने छ । उक्त समितिका सल्लाह र सुझावका आधारमा कलाकारले रेखाचित्र बनाउने छन् ।

त्यो रेखाचित्रका आधारमा करीब एक महीने मूर्तिकला निर्माण, काष्ठकला र चित्रकला निर्माणको कार्यशाला आयोजना गरिने र त्यसलाई पार्कमा राखिने अभियन्ता टङ्क पोखरेलले बताउनुभयो ।
देवदह नगरपालिकामा चालू बजेटमा रु दुई करोड लागतमा पर्यटन क्षेत्रमा काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here