प्राधिकरणका कर्मचारीलाई अझै बढी मिहिनेत गर्न निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई कुराभन्दा बढी काम गर्न निर्देशन दिनुभएको छ ।

हालै सम्पन्न आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा विजयी हासिल गरेको राष्ट्रिय कर्मचारी युनियनको पदभार समारोहलाई सम्बोधन गर्दै उहाँले प्राधिकरण सबैले सम्मान गर्ने संस्थाका रुपमा विकास भएकाले संस्थालाई थप सबल र सक्षम बनाउन कुराभन्दा काम गर्ने थप वातावरण बनाउन निर्देशन दिनुभयो ।

आधिकारिक ट्रेड युनियनको सुझाव र सल्लाहअनुसार काम गर्न मन्त्रालय र प्राधिकरण तयार रहेको उल्लेख गर्दै उहाँले सबै कर्मचारीले इमान्दार भएर काम गरे मात्रै संस्था थप बलियो बन्ने बताउनुभयो । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समेत ऊर्जा क्षेत्रका विषयलाई बढी प्राथमिकतामा राखेको जानकारी दिँदै मन्त्री पुनले जनताका पक्षमा काम गर्ने र सरकारको कार्यक्रमलाई सफल बनाउने दायित्व सबैले निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ मा रु दुई अर्ब ८४ करोड नाफा गरेको प्रसङ्ग जोड्दै चालू आर्थिक वर्षमा समेत थप मुनाफा हुने अवस्थाको सिर्जना गर्न र त्यसो भएको खण्डमा मुनाफाबाट प्राप्त भएको प्रतिफलको लाभ कर्मचारीले स्वतः पाउने स्पष्ट पार्नुभयो ।

प्राधिकरणलाई थप सबल, व्यवस्थित बनाउँदै अन्य संस्थानले समेत अनुकरण गर्ने बनाउन आग्रह गर्दै मन्त्री पुनले व्यवस्थापनले कर्मचारीको भावनालाई आत्मसात् गर्दै जाने बताउनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतदेखि नै कर्मचारीलाई थप सुविधा उपलब्ध गराउन व्यवस्थापनले प्रयास गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत त्यसतर्फको प्रयास जारी रहने बताउनुभयो ।

समस्यामा रहेका केही आयोजना सम्पन्न भएको जानकारी दिँदै उहाँले माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तथा काबेली करिडोर जस्ता प्रसारण लाइनको निर्माण सम्पन्न भएको र त्यसमा कर्मचारीको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । समस्यामा फसेका परियोजना सम्पन्न भएकाले अब नयाँ परियोजनाको खोजीमा प्राधिकरण लागेको भन्दै उहाँले माथिल्लो अरुण, मोदी जस्ता आयोजना अगाडि बढाउने योजनामा रहेको जानकारी दिनुभयो ।

उहाँले प्राधिकरणसँग परियोजना छैन भन्नेलाई नयाँ नयाँ परियोजना अगाडि सारेर कामबाट नै जवाफ दिनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले विद्युत्भार कटौती जस्ता समस्या समाधानका लागि कर्मचारीबाट नै आफूले सक्दो सहयोग पाएको भन्दै प्राधिरकणभित्रका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्मचारीले सेवा सुविधा मात्रै माग्नेभन्दा पनि आफ्नो कर्तव्य पूरा गरे सेवा सुविधा स्वतः प्राप्त हुने स्पष्ट पार्नुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी युनियनका सहसंयोजक खगेन्द्र शाहीले व्यवस्थापनसँग हातेमालो गरेर संस्थालाई थप सबल र सक्षम बनाउन लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । युनियनका संयोजक रामेश्वर पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्राधिकरणको हित र कर्मचारीको सेवा सुविधाका बारेमा चर्चा गरिएको थियो । हालै सम्पन्न भएको प्राधिकरणको टे«ड युनियनको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको युनियन विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here