सहकारीमार्फत ठगी गर्ने जेल चलान

काठमाडौँ । काठमाडौँको चाबहिलमा सहकारी संस्था स्थापना गरी ठगी गर्ने एक जना आज जेल चलान भएका छन् । उच्च अदालत पाटनको विसं २०७३ जेठ २५ को फैसलाले रु आठ लाख ४६ हजार जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका काठमाडौँ महानगरपालिका– ७ का रोशन श्रेष्ठ आज कारागार चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले जनाएको छ ।

फैसलापछि फरार हुँदै आएका उनलाई बुधबार ललितपुरको कुपण्डोलबाट पक्राउ परी काठमाडौँ जिल्ला अदालत पेश गरिएकामा आज कारागार चलान भएको सिआइवीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

श्रेष्ठसहितको समूहले काठमाडौँको चाबहिलस्थित साइन बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना गरी ठगी गरेको आरोपमा जाहेरी परेको थियो । उनीहरुले सर्वसाधारणलाई झुठो प्रलोभनमा पारी रु ३३ लाख ८५ हजार ५०० रकम सङ्कलन गरेर संस्था नै बन्द गरी ठगी गरेको प्रहरीले जनाएको छ ।

उक्त मुद्दामा अदालतले श्रेष्ठको हकमा दामासायीबाट हुन आउने रु आठ लाख ४६ हजार २५० बिगो कायम गरी सोहीबमोजिम जरिवानाको फैसला गरेको थियो । श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले आजै कारागार चलान गरेको सिआइवीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here