पहिरोमा पुरिएका नौको शव निकालियो, चार अझै बेपत्ता

बुटवल । गुल्मीमा पहिरोमा पुरिएकामध्ये नौ जनाको शव फेला परेको छ ।

गए रातिदेखिको अविरल वर्षाका कारण पहिरोले पुरिएर गुल्मीकोे सत्यवती गाउँपालिका–३ सिङ्धिमा तीन जनाको र वडा नं ४ मा छ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएका अन्य चार जना अझै बेपत्ता रहेकासमेत उहाँले बताउनुभयो । अविरल वर्षाका कारण गए राति वडा नं ३ को ठूलो लुम्पेकमा ३४ वर्षीया दिलकुमारी तरामु, उहाँका छोरा नौ वर्षीय दर्शन तरामु र ६३ वर्षीय दुर्गा सिंजालीको शव पहिराबाट निकालिएको छ । सो वडामा पहिरामा १६ वर्षीया बबि विक र ४३ वर्षीया माया विक अहिलेसम्म फेला परेका छैनन् ।

यस्तै वडा नं ४ अन्तर्गत लिम्घामा गएको पहिरोमा पुरिएका छ जनाको शव निकालिएको र अन्य दुई जना हराइरहेका प्रजिअ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो स्थानमा १० वर्षीय हिंमासु विक, २९ वर्षीया पम्फा विक, ३२ वर्षीया निर्मला विक, १२ वर्र्षीया अञ्जली विक, ६० वर्षीया छल्ली विक र १० वर्षीया सिमानी विकको शव फेला परेको छ । सो स्थानमा आठ वर्र्षीया तारा विक र एक नाबालक सुमन अहिलेसम्म फेला परेका छैनन् ।

उक्त क्षेत्रमा पहिरोले पूरै गाउँ नै जोखिममा रहेकाले वडा नं। ४ का प्रभावित स्थानियवासी करीब एक हजार सर्वसाधारणलाई स्थानीय राम माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ । यस्तै पहिरोमा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा स्थानीयसमेत उद्धारमा खटिएका प्रजिअ पौडेलले जानकारी दिनुभयो । पहिराका कारण वडा नं ३ का बाध, क्रुर र कसुन्थला बढी क्षति पुगेको उहाँले बताउनुभयो ।

यस्तै वडा नं ३ का करीब १०० घरमा क्षति पुगेको र प्रभावित सर्वसधारणलाई स्थानीय सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको सोही वडाध्यक्ष दानबहादुर रानाले जानकारी दिनुभयो । प्रजिअ पौडेलका अनुसार भौगोलिक विकटताका कारण सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थलमा केही समयमै पुग्ने र पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भएको छ । पहिरोमा कयौँ चौपायाँसमेत पुरिएका छन् ।

विपद्मा परेकाका लागि राहत सामगी्र र औषधिसहित चिकित्सकहरुको टोलीसमेत घटनास्थलमा पठाइसकिएको र मृतकका शवको पोष्टमार्टम सोही स्थानमै गर्ने व्यवस्था मिलाइएको समेत उहाँले बताउनुभयो । लगातार पानि परिरहेको र ठाउँ–ठाउँमा पहिरोले बाटोसमेत पहिरोले भत्किएकाले घटनास्थलमा उद्धारमा कठिनाइ रहेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल राहतसहित पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको छ । मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरेसहितको टोली प्रभावित क्षेत्रतर्फ जानुभएको छ भने सामाजिक विकासमन्त्री बराल औषधि, टेन्ट, भाडाकुडासहित राहत सामग्रीसहित प्रभावित क्षेत्रतर्फ जानुभएको छ ।

मन्त्री ज्ञवाली र बरालले सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा जुटन सबैमा आग्रह गर्नुभएको छ । गुल्मी क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थान ज्ञवाली र बरालको निर्वाचन क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here