डडेल्धुरामा हैजा फैलिदै

अमरगढी । डडेल्धुराको भित्री मधेशमा पर्ने पर्शुराम नगरपालिका–८ जमरानीमा गम्भीर खालको झाडापखाला ‘हैजा’को प्रकोप देखिएको छ । नगरपालिकाअन्तर्गत सानखोला र धाँदलीफाटाबाट फैलिएको प्रकोप नजिकै रहेकोे गुप्टेगाडा भन्ने गाउँमा पनि देखिएको चिकित्सकले जनाएका छन् ।

बिरामीको दिसाको नमूना परीक्षण गर्दा गम्भीर खालको झाडापखाला ‘हैजा’कै जिवाणु भेटिएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इञ्चार्ज ईश्वरी भुसालले बताउनुभयो । पानीको नमूना परीक्षणमा दिसामा मात्र पाइने ब्यक्टेरिया ‘इकोलाई’ भेटिएकाले महामारी यसैबाट फैलिएको उहाँको भनाइ छ ।

हैजा हो भन्ने पुष्टि भएको छ । हैजा पानीबाट सरेको हुनसक्ने चिकित्सकको भनाइ छ । यो अहिले नियन्त्रण बाहिर रहेको छ । लगातार बिरामी आएका छन् एउटामात्र क्लिनिकमा पाँच जना स्वास्थ्यकर्मीले उपचार गरिरहेका बताइएको छ । स्वास्थ्यकर्मीको कमीका कारण पनि हैजाको सङ्क्रमण बढी रहेको स्थानीयले बताएका छन् ।

पर्शुरामका तीन गाउँमा अहिलेसम्म ८१ जनामा गम्भीर खालको झाडापखाला ‘हैजा’ देखिएको साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवले जानकारी दिनुभयो । एक जना गर्भवती, सात बालबालिका र अन्य ७३ जनालाई हैजा भएको पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इञ्चार्ज भुसालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आठ दिनदेखि रातदिन स्वास्थ्यकर्मीको टोली उक्त स्थानमा काम गरिरहेका छन् तर पनि हैजा नियन्त्रणमा लिन सकिएको छैन ।” साउन २९ गते पहिलोपटक झाडापखालाको प्रकोप देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here