बन्न थाले कृत्रिम ताल

दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र ११ खार्मीको सिमानामा पर्ने बगरे भञ्ज्याङमा निर्माणाधीन कृत्रिम तालको काम तीव्रगतिमा अगाडि बढाइएको छ । नगरपालिकाको

आर्थिक तथा प्राविधिक सहयोगमा १८० मिटर लम्बाइ र १५० मिटर चौडाइको कृत्रिम ताल निर्माण शुरु गरिएको हो । नगरपालिकाको रु दुई करोड ५७ लाखको लागतमा निर्माण शुरु गरिएको पोखरी तीन वर्षभित्र सम्पन्न गरिने जनाइएको छ ।

नगरपालिकाको क्रमागत योजनाअन्तगएत यस आर्थिक वर्षमा रु ५४ लाख बजेटबाट काम शुरु गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष भोगेन राईले जानकारी दिनुभयो । बर्खे पानी जम्मा गरेर बनाइने पोखरीमा अहिले पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

करीब दश मिटर उचाइको पर्खाल निर्माण गरेर बनाइने तालभित्र करीब सात मिटर गहिराइमा पानी जम्नेछ । दिक्तेल–पाथेका सडकखण्डमा पर्ने बगरे भञ्ज्याङमा निर्माणाधीन कृत्रिम तालले जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

कृत्रिम ताल आसपास घुम्न आउने पर्यटकका लागि वर्षात््को समयमा ओत लागेर बस्न मिल्ने स्टिल ट्रष्टहरुसमेत निर्माण गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले बताउनुभयो । प्रवद्र्धनको पर्खाइमा रहेको पर्यटकीय क्षेत्र बगरे भञ्ज्याङको चौतर्फी विकासमा नगरपालिकाले चासो देखाएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब दुई घण्टा पैदलयात्रामा पुगिने पर्यटकीयस्थल बगरे भञ्ज्याङमा पर्यटन प्रवद्र्धनको काम शुरु भएपछि स्थानीयवासीले होटल तथा रेष्टुराँ खोल्न जग्गासमेत खरीद गर्न थालेका छन् । चारैतिर घना जङ्गल रहेको उक्त ठाउँमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा सयर गर्न मिल्ने गरी संरचना बनाइने नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो ।

“बगरे भञ्ज्याङ पर्यटकीय क्षेत्रको सम्भावना बोकेको ठाउँ हो”, उहाँले भन्नुभयो, “यसको प्रवद्र्धनमा नगरपालिकाले दीर्घकालीन योजना बनाएर काम थालेको छ । यसले नगरको पर्यटन प्रवद्र्धनसँगै आर्थिक उन्नतिमा समेत सघाउ पुग्नेछ ।”
मध्यपहाडी लोकमार्गमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डको शिरमा पर्ने बगरे भञ्ज्याङसम्म पुग्न दूधकुण्डबाट पदमार्गसमेत निर्माण गरिने उपभोक्ता समितिले जनाएको छ ।
सदरमुकाम दिक्तेलबाट करीब नौ किलोमिटर टाढा रहेको बगरे भञ्ज्याङलाई वनभोजस्थलका रूपमा विकास गर्ने योजना बनाइएको छ । कृत्रिम ताल निर्माण सम्पन्न भएपछि आसपासमा यसअघि सुकिसकेको पानीको स्रोतसमेत वृद्धि हुने अपेक्षा गरिएको छ । बगरे भञ्ज्याङमा निर्माणाधीन कृत्रिम ताल आसपास ठूला चउर, घाँसे मैदान तथा खर्कहरु रहेका छन् ।

समुद्री सतहदेखि करीब एक हजार ८०० मिटर उचाइमा रहेको बगरे भञ्ज्याङ आसपास लालीगुँरास, चाप, विभिन्न प्रजातिका सुनाखरी, चिमाललगायतका फूल तथा जडीबुटी पाइन्छ । मृग, हरिण, घोरल, थार, खरायोलगायत जङ्गली जनावर भेटिने बगरे भञ्ज्याङ आसपास पर्ने डाँडाखर्क खिसापत्रे सामुदायिक वनमा कालिज, प्युरा, मलेवा, ढुकुर, जुरेलीजस्ता विभिन्न प्रजातिका चराचुङ्गी देख्न पाइन्छ ।

निर्माणाधीन तालबाट पर्यटकीयस्थल रूपाकोट, मेरुङ, रमितेडाँडालगायतका ठाउँ जाने पदमार्गसमेत निर्माण गरिने योजना बनाइएको छ । प्राकृतिकरूपले भरिपूर्ण चारैतिर हरियाली रहेको उक्त ठाउँमा अहिले पनि आन्तरिक तथा बाह्य पर्यटक घुम्न तथा वनभोजका लागि जाने गरेका छन् । बगरे भञ्ज्याङलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना नगरपालिकाले बढाएसँगै सडक स्तरोन्नतिको कामलाई समेत तीव्रता दिइएको छ ।

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी तथा दिक्तेल–पाथेका सडक अहिले धमाधम फराकिलो पार्ने काम भइरहेको नगरपालिकाले जनाएको छ । बगरे भञ्ज्याङ जाने पर्यटकलाई सर्वोच्च शिखर सगरमाथालगायत हिमाली शृङ्खला तथा तराईका फाँटको दृश्यावलोकन गराउन कलम आधारको ९पेन टावर० दृश्यावलोकन स्तम्भसमेत निर्माण गरिने जनाइएको छ । दृश्यावलोकन स्तम्भका लागि ‘डिजाइन’ तथा लागत निर्धारणको कामसमेत सम्पन्न भइसकेको उपभोक्ता समितिले जनाएको छ ।

जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा पर्ने बगरे भञ्ज्याङ नेपाल सरकारले पैदलयात्राका लागि निर्धारण गरेको १०० वटा पदमार्गअन्तर्गत पर्ने मुन्धुम ट्रेलमा पर्दछ । पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकारले नै निर्धारण गरेको पदमार्गमा पर्ने बगरे भञ्ज्याङको कृत्रिम ताल निर्माणलाई निक्कै महत्वका साथ हेरिएको छ ।

मुन्धुम ट्रेल नाम दिइएको उक्त पदमार्गको यात्रा गर्दा दूधकुण्ड ९नुम्बुर०, मकालु, सगरमाथा, कुम्भकर्ण हुँदै कञ्चनजङ्घासमेतको हिमाली श्रृङ्खला अवलोकन गर्न सकिन्छ । ठूला–ठूला घाँसे मैदान, लमतन्न फैलिएका चौँरीखर्कहरु तथा भँेडीगोठको बीचबाट डाँडाको शिरैशिर दम्साइलो बाटो उक्त पदमार्गको विशेषता हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here