रौतहट । पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश पछि न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडेका छन्।
आलमलाई काठमाडौँ नख्खु कारागार पठाए लगत्तै शान्ति सुरक्षाको कारण देखाउँदै सरकारी अधिकारीले जिल्ला छाडेका छन् ।
जिल्ला अदालत रौतहटले गत शुक्रबार आलमलाई थुनामा पठाउने आदेश गरेको थियो।
ईटा भट्टिमा मान्छे जलाएको आरोपमा आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो। आलम थुनामा गएपनि सुरक्षा थ्रेट भएपछि न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषद्लाई आग्रह गरेका थिए।
आलमविरुद्ध बहस जाहेरी दर्ता गरेका सरकारी वकिल फणिन्द्रराज कटवालले पनि रौतहट छोडेका छन्। कटवाल पनि सरुवाको माग गर्दै शुक्रबार नै रौतहटबाट हिँडेका हुन्। कटवालले आदेशपछि आफू असुरक्षित रहेको जानकारी महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई गराएका थिए। जानकारी गराएसँगै उनी काठमाडौं हिडेको बताइएको छ।
अदालते जारी गर्यो सुरक्षा नोटिस
जाहेरीवाला र साक्षीको सुरक्षामा विशेष व्यवस्था गर्न अदालतले चारबुँदे आदेश दिएको छ। सुरक्षित रूपमा अदालत ल्याउने, बसोवाससम्म सुरक्षित रूपमा पुर्याउने, संरक्षणगृह वा कुनै संस्थामा बसोवास गर्ने व्यवस्था मिलाउने, व्यक्तिगत बासस्थानको सुरक्षा मिलाउने तथा उनीहरूका सुरक्षामा खलल पुर्याएमा कानुनी कारबाही गर्नसमेत अदालतले आदेश भनेको छ।