बन्दुक पड्किदा वन रक्षकको मृत्यु

उदयपुर: उदयपुरमा भरुवा बन्दुक पड्किएर बुधबार राति वन रक्षकको मृत्यु भएको छ। सव डिभिजन वन कार्यालय तपेश्वरीमा कार्यरत वन रक्षक सुनसरी दुहवी घर भएका ४० वर्षीय लेखनाथ वास्तोलको मृत्यु भएको हो।

जंगलमा गस्तीमा निस्किएका वन रक्षकले लोड गरेको अवस्थामा भरुवा बन्दुक फेला पारेर राति १० बजे कार्यालय ल्याएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए। वनकै गाडीमा राखेर ल्याइएको बन्दुक गाडीबाट निकाल्ने क्रममा बेलका नगरपालिका–१ स्थित कार्यालयको गेट अगाडि पड्किएको उनको भनाइ छ।

बन्दुकको छर्राले छात्तीमा लागेपछि वास्तोलाको मृत्यु भएको प्रहरीले जनाएको छ। ‘वनको गस्तीमा निस्किएका रक्षकले भरुवा बन्दुक फेला पारेर कार्यालयमा ल्याएको र गाडीबाट निकाल्ने क्रममा अचानक पड्किएर घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, एसपी दाहालले भने, ‘बन्दुक कुन ठाउँमा फेला परेको हो र कसरी घटना भयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ।’

प्रहरीले बन्दुक कस्तो अवस्थामा फेला परेको भन्ने बारेमा विस्तृतमा अनुसन्धान थालिएको जनाएको छ। बन्दुक कसले छाडेको हो भन्ने बारेमा एकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ। अन्नपुर्णका अनुसार वन्यजन्तुको चोरी सिकारी गर्ने समूह जंगल पसेको र वन रक्षक गस्तीमा आएको चाल पाएर बन्दुक त्यहीँ फालेर भागेको हुनसक्ने एसपी दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here