उखु किसानको रकम भुक्तानी नगर्नेहरूलाई जेल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्नेहरूलाई ठगी मुद्दामा जेलसमेत हाल्न सकिने गरी गृहकार्य अघि बढाएको छ । मन्त्रालयले गृहलगायत अन्य सरोकारवाला मन्त्रालयसँग समन्वय र छलफल गर्दै उखु किसानमाथि लगातार ठगी गर्नेहरू नसच्चिए उनीहरूलाई जेलमा हालेर कारबाही गर्नेसम्मको तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

यद्यपि सुरुमा भने उखु किसानलाई रकम उपलब्ध गराउन फेरि अन्तिम ताकेता गर्ने र त्यसपछि पनि अटेर गरे गृह मन्त्रालयको सहयोग लिएर थुन्नेसम्मको योजना मन्त्रालयले अघि सारेको हो । किसानले पाउनुपर्ने रकम नआउँदासम्म माइतीघरमा शान्तिपूर्ण आन्दोलन जारी राख्ने पीडितहरूले बताएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पहिलो चरणमा चिनी उद्योगीलाई उखु किसानको बक्यौता भुक्तानीसम्बन्धी सम्पूर्ण विवरण बुझाउन निर्देशन दिएका छन् । मन्त्री भट्टले उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगका सञ्चालकलाई सोमबार मन्त्रालयमै बोलाएर मंगलबार ३ बजेभित्र सबै यथार्थ बुझाउन निर्देशन दिएका हुन् । मन्त्री भट्टले चिनी उद्योगीलाई उखु किसानको बक्यौता किन नदिएको भन्दै स्पष्टीकरणसमेत मागेका थिए ।

मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले अब पनि चिनी उद्योगीले उखु किसानको बक्यौता रकम भुक्तानी दिन आनाकानी गरे सञ्चाकललाई जेलसमेत हाल्ने मन्त्रलायको तयारी रहेको बताए ।

सचिव ओझाले उखु किसानको बक्यौता भुक्तानी सम्बन्धमा मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा छलफल हुने जानकारी दिए । उनले भने, ‘छलफल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, कृषिमन्त्री र गृहमन्त्रीबीच हुनेछ । तीन वटा सरोकारवाला मन्त्रालयका मन्त्रीको छलफल र बैठक पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार दिउँसो ३ बजे उखु किसान र चिनी उद्योगीसँग छलफल हुनेछ ।’

चिनी उद्योगी र उखु किसानसँगको ३ बजेको छलफल पछि आवश्यक निकास निस्कने विश्वास मन्त्रालयका अधिकारीहरूले गरेका छन् ।

‘अब पनि चिनी उद्योगीले दुई तीन दिनभित्र किसानको बाँकी बक्यौता भुक्तानी नगरे मन्त्रालय एक्सनमा जानेछ,’ सचिव ओझाले भने । सचिव ओझाका अनुसार सोमबार अन्नपूर्ण सुगर मिलका सञ्चाल राकेशकुमार अग्रवाल, श्रीराम सुगर मिलका सञ्चालक विशाल अग्रवाललगायतसँग छलफल भएको छ । लामो समयसम्म सम्पर्कविहीन भएका लुम्बिनी चिनी उद्योगका सञ्चालक पनि सम्पर्कमा आएको उनले जानकारी लिए ।

सचिव ओझाले जसरी भए पनि उद्योगीबाट उखु किसानको बक्यौता भुक्तानी गराउने मन्त्री भट्टको प्रतिबद्धता रहेको बताए । उनले गत वर्ष उखु किसानसँग गरेको सम्झौताअनुसार धेरै बक्यौता भुक्तानी भएको जानकारी दिए ।

निश्चित समयभित्रमा किसानको सबै पैसा नआएसम्ममा वार्तामा नबस्ने संर्घष समितिका संरक्षक राकेश मिश्रले बताए । उनले गत वर्ष वार्तामा बसेर पाँच बुँदे सहमति र सम्झौता गर्दा एक वर्षसम्ममा पैसा नआएकाले वार्तामा बस्नुको औचित्य नभएको बताए ।

उनले भने, ‘अब उद्योगीबाट पैसा नअसुल्दासम्म शान्तिपूर्ण आन्दोलन जारी नै राख्नेछौं ।’सरकारले नै चिनी उद्योगीबाट किसानलाई दिनुपर्ने पैसाको ब्याजसहित सबै पैसा उठाइदिनुपर्ने उनको भनाइ छ । किसानको खातामा पैसा नआउँदासम्म माइतीघरमा शान्तिपूर्ण आन्दोलन जारी राख्ने मिश्रले जानकारी दिए । मिश्रका अनुसार ६ वटा चिनी मिलका सञ्चालकले किसानको ९० करोड दिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here