कोलम्बियाले फेब्रुअरीदेखि कोरोनाविरुद्धको खोप दिने

बोगोटा । दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ ।

खोप दिने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले सोमबार जानकारी दिनुभयो ।

स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा उहाँले परीक्षणको रुपमा खोप दिने कार्य भने यही हप्तादेखि जनवरीको पहिलो हप्तासम्ममा सुरु हुन सक्ने पनि बताउनुभयो ।

सरकारले आफ्ना नागरिकका लागि सबैभन्दा राम्रो गुणस्तरको खोप ल्याउने गरी गृहकार्य गरिरहेको पनि राष्ट्रपति इभानको भनाइ थियो ।

कोलम्बियामा अहिलेसम्म १५ लाखभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ४० हजारभन्दा बढीको मृत्यु भएको छ । उहाँले भन्नुभयो, आफ्ना नागरिकलाई जोगाउन खोप लगाउनु हाम्रो अनिवार्य जिम्मेवारी हो, हामीले त्यसका लागि गृहकार्य गरिरहेका छौँ, आगामी फेब्रुअरीदेखि आमरुपमा खोप लगाउने कार्यक्रम सुरु हुनेछ ।

उहाँले खोप ल्याउने र आमरुपमा लगाउने कार्यका लागि आफूले काम गरिरहेको पनि जानकारी दिनुभएको छ ।

त्यसका लागि भइरहेका सबै प्रक्रिया अत्यन्त महत्वपूर्ण भएको र सन्तोषजनक तरिकाले अगाडि बढीरहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here