फुकोट जलविद्युत्को सुरुङ निर्माण शुरु

कालिकोट । फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षणका लागि सुरुङ खन्न शुरुआत गरिएको छ । आयोजनास्थल कालिकोटका रास्कोट नगरपालिका–९ फुकोटको फुगाडखोलामा सुरुङ खन्न थालिएको हो ।

छ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको क्षमता ४२६ मेगावाट रहेको छ । माटोको अवस्था र चट्टानलगायतका भौगर्भिक अध्ययनका लागि छसय मिटर सुरुङ खन्न थालिएको आयोजनाले जनाएको छ ।

भौगर्भिक अध्ययनका लागि सुरुङ खनेर परीक्षण गर्न थालिएको आयोजना प्रमुख हिरामान वाइवाले जानकारी दिनुभयो । “माटो र चट्टानलगायतका भौगर्भिक अध्ययनका लागि सुरुङ खन्न थालिएको छ ।” उहाँले भन्नुभयो, “पहिलो चरणमा अध्ययन सकिएपछि भौगर्भिक अध्ययनका लागि सुरुङ खनिएको हो ।”

आयोजना निर्माणका लागि अहिले परीक्षण सुरुङ खन्ने र आवासका लागि घर निर्माणका काम थालनी भएको आयोजना उहाँको भनाइ छ । “चाँडै आवास निर्माणको काम शुरु हुँदैछ”, उहाँले भन्नुभयो, “यही गतिमा काम अगाडि बढे लक्ष्यमा पूरा हुन्छ ।”

आगामी छ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको आयोजनाले जग्गा अधिग्रहण गर्न नेपाल सरकारले स्वीकृति प्रदान गरेपछि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ ।

जलविद्युत् आयोजनाको बाँध निर्माणबाट डुबानमा पर्ने कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको साविक रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोट गाविसमा रहेका प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । आयोजना निर्माणका लागि एक हजार १४९ परिवार प्रभावित भएको र आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ प्रतिशत र आंशिक जग्गा परेकाले ६६ प्रतिशत मुआब्जा पाउने आयोजना प्रमुख वाइवाले बताउनुभयो । करिब रु एक खर्ब बजेट आवश्यक पर्ने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here