सालक संरक्षणका लागि प्राणी उद्यानमा

लहान । सिरहाको गोलबजारबाट बरामद भएको दुर्लभ वन्यजन्तु सालक संरक्षणका लागि लहान नगरपालिका–१५ स्थित कोइरालो सामुदायिक वन क्षेत्रमा रहेको वन्यजैविक प्राणी उद्यान केन्द्रलाई जिम्मा लगाइएको छ ।

सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारले तस्करी भइरहेको अवस्थामा गत आइतबार बरामद गरेको सालक संरक्षणका लागि वन्य जैविक प्राणी उद्यानलाई जिम्मा लगाएको डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो ।

स१०प ३३३० नंको मोटरसाइकलमा लोड गरिएको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीले बाँसको चोयाले बनेको पेरुङ्गोमा उक्त सालक बरामद गरेको थियो । गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि तस्कर मोटरसाइकल छाडेर भागेका थिए । सालक के प्रयोजनका लागि कसले तस्करी गरिरहेको भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहान सिरहाले जनाएको छ ।

यस्तै डिभिजन वन कार्यालयको टोलीले सिरहाको गोलबजार नगरपालिकाको मुक्सारबाट ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ । डिभिजन वन कार्यालय लहान सिरहा र सबडिभिजन वन कार्यालय गोलबजारको संयुक्त टोलीले मुक्सारस्थित जङ्गल क्षेत्रमा तस्करहरूले लुकाइछिपाइ राखेको अवस्थामा साखु र अन्य जातका गरी ८९ थान चिरान काठ बरामद गरेको छ । बरामद काठ बजार मूल्य करिब रु चार लाखभन्दा बढी रहेको प्रमुख दासले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here