अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या अझै बढ्दै

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा बुधबार एकै दिन तीन हजार ९०० भन्दा बढी व्यक्तिको कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ ।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला दिनमा एकै दिन यतिठूलो संख्यामा कोरोना सङ्क्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।

विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा विगत २४ घण्टाको अवधिमा तीन हजार ९२७ जनाको ज्यान गएको विश्वविद्यालयले जनाएको छ । यस्तै एकै दिन एक लाख ८९ हजार ६७१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यो सहित अमेरिकामा कूल सङ्क्रमितको संख्या दुई करोड नाघेको छ भने तीन लाख ५० हजार ७७८ जनाको मृत्यु भएको छ ।

अमेरिकाका एक जना अग्रणी सङ्क्रामक रोग विज्ञ एन्थोनी फाउचीले महामारीको असर हिउँदका दिनमा अझ बढ्न सक्ने चेतावनी दिनुभएको छ । उहाँले बिदाका दिनहरुमा हुने जमघटसमेतले कोरोना सङ्क्रमण फैल्याउन थप भूमिका खेल्ने बताउनुभयो ।

अमेरिकामा यतिबेला खोप लगाउने अभियान जारी छ र करिब २८ लाख व्यक्तिले खोप लगाइसकेका छन् । यसै डिसेम्बर महिनाको अन्त्यसम्ममा दुई करोड व्यक्तिलाई खोप दिने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना असफल भइसकेको छ ।

यसैबीच, विश्वभर कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या आठ करोड ३२ लाख पुगिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या १८ लाख १३ हजार नाघेको छ ।

भारतमा कूल सङ्क्रमितको संख्या एक करोड नाघेको छ भने मृत्यु भएकाको संख्या एक लाख ४८ हजार पुगेको छ । तेस्रो बढी सङ्क्रमण फैलिएको ब्राजिलमा एक लाख ९३ हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here