कसरी मरे नवलपरासीमा संकटापन्न गिद्ध

काठमाडौँ, बैशाख ८ गते । नवलपरासीको जीतपुरमा संसारमै अति संकटापन्न अवस्थामा रहेका दुई प्रजातिका गिद्ध सहित ६७ वटा गिद्ध मारिएका छन् ।

नगरपालिका जस्तो सम्वेदनशिल निकायले भुस्याहा कुकुरलाई विष हाल्दै मारेर जथाभावी रुपमा फाल्दा यस्तो घटना सिर्जना भएकोले गिद्ध मरेका नभई मारिएको हुन भन्ने दावी स्थानीय बासिन्दाले गरेका छन् ।

घटनास्थल हेर्दा सिनो खान आएका गिद्ध खाँदाखाँदै मरेको जस्तो देखिन्छ । सिनो खाएर उड्न पाएका छैनन् । सिनोको वरीपरी झुम्मिएर खान बसेका गिद्ध जस्ताको तस्तै वरीवरी गोलो घेरामै मरेका छन् ।

देउबहादुर राना, अधिकृत
गिद्ध संरक्षण परियोजना

पंक्षी संरक्षण संघको गिद्ध संरक्षण परियोजनाका अधिकृत देउबहादुर रानाका अनुसार नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ४ को जीतपुर नजिकै रहेको स्थानीय पाल्ही बहुमुखी क्याम्पसका चउरमा गिद्ध मरेका अवस्थामा फेला परेका छन् । उनले घटनास्थलबाट नेपालकथासँग भने, क्याम्पसको पछाडी पट्टीको चउरमा बोरामा मरेका कुकुर फालिएका छन् । कतिपय कुकुर त खुला चउरमा फालिएका छन् । ती कुकुरको सिनो वरीपरी ६७ वटा गिद्ध मरेर छरपस्टिएका अवस्थामा रहेका छन् ।

स्थानीय बासिन्दाका अनुसार विगत तीन/चार दिन देखि क्याम्पस माथिको आकाशमा सयौँ गिद्ध उडेका देखिन्थे तर गिद्धको उड्ने क्रम धेरै दिन चलेन । एकाएक गिद्ध हराएका भन्ठानेका स्थानीय बासिन्दाले क्याम्पसका चउरमा गिद्ध मरेको देखेपछि अचम्म लागेको बताएका छन् ।

क्याम्पस हाताभित्र बच्चाहरु खेल्ने गएपछि चउरभरी मरेका कुकुरसँगै गिद्ध पनि छरपस्ट भएको देखे पछि स्थानीय प्रशासनलाई खबर गरेको बताएका छन् ।

रामग्राम नगरपालिकाले भुस्याहा कुकुर मार्ने अभियान चलाउने हल्ला गरेको सुनेका स्थानीय बासिन्दाले नगरपालिकाले नै यसरी कुकुरलाई मारेर फालेको थाहा नपाएको बताएका छन् ।

अधिकृत रानाले नेपालकथासँग बुधवार दिउसो भने, जता कुकुर मारेर फालिएका छन् त्यतै गिद्ध पनि मरेका छन् । घटनास्थल हेर्दा सिनो खान आएका गिद्ध खाँदाखाँदै मरेको जस्तो देखिन्छ । सिनो खाएर उड्न पाएका छैनन् । सिनोको वरीपरी झुम्मिएर खान बसेका गिद्ध जस्ताको तस्तै वरीवरी गोलो घेरामै मरेका छन् ।

घटनास्थल नजिक जंगल पनि छैन । खुला चउर र खेतीबाली मात्र छ । यी गिद्ध यो क्षेत्रमा सिनो खानका लागि आएका हुन् । रानाले भने, सिनो खान आएका जति सबै गिद्ध यही मरेको जस्तो देखियो । गिद्धको गुँड लगाउने जंगल पनि घटनास्थलबाट कम्तिमा १० किलोमिटर टाढा रहेको छ ।

अंकित बिलाश जोशी
गिद्ध संरक्षण अधिकृत , पंक्षी संरक्षण संघ

पंक्षी संरक्षण संघका गिद्ध संरक्षण अधिकृत अंकित बिलाश जोशीका अनुसार संसारमै लोप हुने अवस्थामा पुगेको डंगर र सानो खैरे प्रजातिको गिद्ध पनि मारेका छन् ।

यो घटनामा हिमाली गिद्ध र राजगिद्ध प्रजातिका गिद्ध पनि मरेका छन् । जोशीले भने, यो ज्यादै दुखद घटना भयो । यस अघि यति ठूलो संख्यामा एकै पटक गिद्ध मरेको हामीले देखेका थिएनौँ । प्राकृतिक कारणले दुई/चार वटा गिद्ध एकसाथ मर्ने बेग्लै कुरा हो तर यो घटना निकै दर्दनाक देखियो ।

सरकारले गिद्ध संरक्षण कार्ययोजना निर्माण गरी लोपोन्मुख गिद्धलाई उचित संरक्षण गर्ने काम गरिरहेको छ । सरकारको यो अभियानलाई बिभिन्न संरक्षण साझेदार संस्थाहरुले सहयोग पुर्याउँदै आएका छन् ।

चितवनको कसरामा गिद्ध प्रजनन केन्द्रको स्थापना गरिएको छ । सो केन्द्रमा जन्मेका ३१ वटा गिद्धलाई स्याटेलाइट ट्याग गरेर जंगलमा छाडिएको कुरा अधिकृत जोशीले जानकारी दिए । ३० वटा प्राकृतिक बासस्थानका गिद्ध गरी हालसम्म ६१ व्टा गिद्धलाई स्याटेलाइट ट्याग गरि प्राकृतिक बासस्थानमा छोडिएको छ ।

ती स्याटेलाइट ट्याग गरिएका गिद्ध मध्य १४ वटा जति प्राकृतिक कालगतिले मरिसकेका छन् भने एउटा गिद्ध करेन्ट लागेर मरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here