उपमेयरबाट वनमन्त्रीसम्मको यात्रामा नारदमुनी राना

काठमाडौँ । कैलाली क्षेत्र नम्बर ५ मा शेरबहादुर देउवा पत्नी आरजु देउवालाई गत निर्वाचनमा हराएका नेकपा एमालेका नेता नारदमुनी राना वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

२०५४ सालको स्थानीय निर्वाचनमा धनगढी नगरपालिकाका उपमेयरमा नेकपा एमालेबाट बिजयी भएका नारदमुनी रानाको राजनीतिक यात्रा २०६४ मा दोस्रो संविधान सभामा संविधान सभा सदस्यका रुपमा उदय भएको थियो ।

संविधान सभाबाट संविधान बनेपछि भएको निर्वाचनमा एमाले तथा माओबादीका संयक्त उम्मेदवार बनेर जितेका रानालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् ।

तत्कालिन अवस्थामा नेकपा एमाले बिभाजन हुँदा माले नभएर संस्थापन पक्षसँग रहेका राना एमाले जिल्ला समिति कैलालीका सदस्य पनि हुन । धनगढीको क्याम्पस रोडदेखि दक्षिणी सीमा क्षेत्रमा बसोबास गर्दै आएका रानाले उपमेयर हुँदा राम्रो काम गरेकाले अरु जनप्रतिनिधि भन्दा तुलनात्मक रुपमा लोकप्रिय नै मानिन्छन् ।

२०२९ सालमा धनगढी उपमहानगरपालिका–८ मा जन्मिएका रानाले कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका छन् ।

एमालेका वैकल्पिक केन्द्रीय सदस्य भइसकेका राना हाल एमाले केपी ओली पक्षका सुदूरपश्चिम प्रदेश सहइन्चार्जको जिम्मेवारीमा रहेका छन् ।

आरजु देउवालाई भmण्डै पाँच हजार मतले पराजित गरेपछि राष्ट्रिय चर्चामा आएका रानालाई यस अघि पनि पटक पटक मन्त्री बनाउने चर्चा चलेको थियो । अघिल्लो पटक पर्यटन मन्त्री बन्ने ठिक्क हुँदा हुँदै भागबण्डाको राजनीतिबाट बाहिरिएका राना यस पटक भने मन्त्री बन्न सफल भएका छन् ।

पारिवारिक रुपमा प्रशस्त जग्गा जमिन भएको राना थारु परिवारमा जन्मेका राना समुदायमा उच्च शिक्षा हासिल गरेका सीमित व्यक्तिमा पर्ने गरेका छन् ।

थारु समुदायभित्रको अल्पसंख्यक मानिने राना समुदायमा जन्मेका नारदमुनीले आरजुसँग जितेको खण्डमा पहिलो पटक नै मन्त्री बन्ने घोषणा गरेका थिए । चुनावमा एमाले र माओबादी बाम गठबन्धनबाट साझा उम्मेदवार बनेको रानाले केपी ओलीको कार्यकालको अन्तिम समयमा आएर मन्त्री बन्ने अवसर पाएका छन् ।

नेपाली कांग्रेसको गढलाई भत्काउन सफल रानालाई मन्त्री बनाउनुपर्ने लामो समयदेखि प्रधानमन्त्री केपी ओलीलाई दवाव भएपनि पार्टी नेतृत्व भीम रावलका कारण उनी मन्त्री बन्न नपाएको चर्चा हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here