देउवाले भने, बाघले मान्छे खानु बाघको ज्यादती

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जंगलमा बस्ने बाघले घरमा बस्ने मान्छे खाने काम गर्नु राम्रो नभएको बताएका छन् । उनले यस्तो कार्य बाघको ज्यादती भएको पनि बताएका छन् ।
विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय बाघ संरक्षण समितिद्धारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भने, वनजंगलको संरक्षण गरेर बाघको संख्या वृद्धि भएको छ तर बाघले मान्छे खाँदा यो बाघको ज्यादती भयो । यसलाई रोक्नुपर्छ ।

उनले बाघ संरक्षणको काम सरकारको प्राथमिकतामा रहेको पनि बताए । विकासका पूर्वाधार निर्माणले वन्यजन्तुको बासस्थानमा अवरोध भइरहेकोले आउँदा दिनमा विकासलाई संरक्षणमैत्री बनाउँदै लैजाने पनि उनले बताए ।

वन्यजन्तुको चोर शिकारी नियन्त्रणमा नेपाली सेनाले गरेको कामको स्रहाना गर्दै संरक्षण साझेदार संस्थाहरुले नेपाललाई गरेको सहयोगको लागि धन्यबाद दिए ।


माधव नेपालले सम्झे बोहरालाई
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा एमालेका नेता माधबकुमार नेपालले पूर्व वन मन्त्री दिपक बोहराको खुलेर प्रशंसा गरे ।

नेपाल प्रधानमन्त्री हुँदा वन तथा भूसंरक्षण मन्त्रीमा दिपक बोहरा थिए । बोहराकै योजनामा सन् २०१० मा कालापत्थरमा मन्त्रिपरिषदको बैठक सञ्चालन गरेर जलवायु परिवर्तनको असर हिमालमा परिरहेको कुरालाई विश्व समुदायको ध्यानाकर्षण गरिएको थियो ।

नेता नेपालले कार्यक्रममा भने, मलाई रुसको बाघ सम्मेलनमा बोल्नका लागि हिम्मत दिने मन्त्री दिपक बोहरा नै हुन् । नेपालको हिमालयको समस्या विश्वसामु प्रचार प्रसार गर्न कालापत्थरमा क्याबिनेट सञ्चालन गर्ने आइडिया दिने मेरा सहयोगी मन्त्री पनि बोहरा नै हुन । प्रधानमन्त्रीले मात्र केही गर्न सक्दैन । सहयोगी मन्त्री उत्तिकै सक्रिय र सिर्जनात्मक मान्छे हुनु पर्छ । अनि प्रधानमन्त्री सफल हुनसक्छ । मलाई सफल बनाउनमा मन्त्री बोहराको ठूलो हात छ ।

देउवाले हालै स्वास्थ्य राज्यमन्त्रीमा उमेशकुमार श्रेष्ठलाई नियुक्त गरेपछि चौतर्फी टिप्पणी भइरहेको बेला पूर्व प्रधानमन्त्री नेपालले बोहराको बखान गरिरहेको सभामा उपस्थित गृहमन्त्री बालकृष्ण खाँडले निकै पटक नेता नेपाल तर्फ हेरेका थिए ।

देउवाको विश्वासपात्र मानिने गृह मन्त्री खाँड र देउवा उपस्थित भएको कार्यक्रममा नेता नेपालले लुम्बिनीमा खाँडसँग हरेक निर्वाचनका निकटम प्रतिष्पर्धी मानिने दिपक बोहरालाई असल र सक्रिय मन्त्रीको रुपमा बखान गरिनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here