बर्दियामा बाघको आहार प्रजातिको अध्ययन सुरू

ठाकुरद्वारा । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आहार प्रजातिको अध्ययन सुरु भएको छ ।

बाघ गणनासँगै गरिने यो कामका लागि तयारी पूरा भइसकेको छ भने अध्ययनमा सहभागी हुने प्राविधिकहरुलाई आइतबारबाट प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।


प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठ

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठका अनुसार अध्ययनमा प्रत्यक्ष सहभागी हुने प्राविधिकहरुलाई प्रशिक्षण दिने काम आइतबारबाट सुरु हुँदैछ ।

सन् २०१८ को बाघ गणनामा बर्दियामा ८७ वटा बाघ रेकर्ड गरिएका थिए भने प्रति वर्ग किलोमिटर ७६ वटा आहार प्रजाति संख्या रेकर्ड भएका थिए ।

एउटा बाघले वर्षभरी औसतमा ५० वटा आहार वन्यजन्तुको शिकार गर्ने गरेको अध्ययनले देखाएको छ । बर्दियामा भने यो औसतभन्दा बढी आहार प्रजातिको घनत्व रहेको छ । राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९६८ वर्गकिलोमिटर, मध्यवर्ती क्षेत्रको ५०७ वर्गकिलोमिटर र ७४ वर्गकिलोमिटर जैविक करिडोरको क्षेत्र रहेको छ ।

आहार प्रजातिको उपस्थिति र क्षेत्रफल हेर्ने हो भने बर्दियामा बाघको संख्या अझै बढ्न सक्ने अवस्था रहेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार आहार प्रजातिको अध्ययनमा १० दिन जति लाग्ने अनुमान गरिएको छ । लाइन ट्राजिक्ट विधिको प्रयोग गरेर अध्ययन गरिने भएको छ ।

अध्ययनका लागि निकुञ्ज, मध्यवर्ती क्षेत्र, खाता र कर्णाली जैविक मार्गमा गरी १५१ लाइन ट्राजिक्ट निर्माण गरिएका छन् । पाँच वटा टोली परिचालन गरिने र ती सँगै छ वटा हात्ती परिचालन गरिने भएका छन् ।

बाघ, हात्ती तथा गैँडाको आक्रमण हुन सक्ने सम्वेदनशिल क्षेत्रमा हात्ती र नेपाली सेनालाई समेत परिचालन गरिने भएको छ । यता बाघ गणनाको फिल्डको कार्य सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here