वन मन्त्री महतोलाई फिर्ता बोलाउने पार्टीको तयारी

काठमाडौँ । २०८० साल जेठ १० गते नियुक्त भएका वन तथा वातावरण मन्त्री बीरेन्द्रप्रसाद महतोको कामका बारेमा पार्टीभित्र छलफल सुरु भएको छ । मन्त्रीमा नियुक्त भएको तीन महिना भन्दा बढी समयमा पनि खासै उल्लेखनीय काम गर्न नसकेको भन्दै पार्टीका बैठकमा आलोचना हुन थालेको छ ।


जनता समाजबादी पार्टी कार्य सम्पादन समितिका एक जना बरिष्ठ पदाधिकारीले आइतबार नेपालकथासँग भने, अहिलेका वन मन्त्री पार्टीमा कसरी आए, सबैलाई जगजाहेर छ । उनी विशुद्ध व्यापारी हुन् । मधेश आन्दोलन हाँकेका व्यक्तिलाई पछारेर उनलाई त्यो पदमा ल्याइयो । हामी सबैले ठिकै छ भनेर चुपै लाग्यौँ । बिहानीले दिउसो देखाउन्छ भन्छन् नि, हो नि त्यस्तै हो । यतिको समयमा उहाँले खास गरेको काम केही देखिएन, अब पनि देखिन्छ भन्नेमा शंका नै छ । अध्यक्षज्यूको तजबिजले उहाँ मन्त्री पद खान जानु भएको हो । केही पदाधिकारीलाई प्रभावित पारेको कारणले त्यति बेला उहाँको आलोचना बाहिर आएन तर अब उहाँका गतिविधि सबै देखि सकेपछि पार्टीभित्र फिर्ता बोलाउनुपर्छ भन्ने लाइनमा कुरा चलिसक्यो ।


त्यति बेला पनि उहाँलाई मन्त्री पदमा बढीमा छ महिनाका लागि भनेर पठाएको र छ । छ महिनापछि अर्काे व्यक्तिलाई पालो दिने कुरा पार्टी अध्यक्षले बैठकमा भन्नु भएको हो । उहाँलाई छ महिनासम्म राख्दा पार्टी बदनाम हुने र देश र जनताका लागि काम नहुने देखिएकोले हामीले उहाँलाई फिर्ता बोलाउनु पर्छ भन्ने कुरा अध्यक्ष समक्ष राखिसकेका छौँ, अब औपचारिक रुपमा यो एजेण्डाले प्रवेश पाउँछ ।


उनले भने, न त मधेश प्रदेशमा बजेट हाल्न सक्नु भयो । न त राष्ट्रिय स्तरमा कुनै राम्रो काम गरेको सुनिन्छ । केबल ठूलठूला जलविद्युत आयोजना, केबलकार र सिमेन्ट उद्योगका खानी सञ्चालनका लागि काम गरेको देखियो । पार्टीभित्र यस्तो खालको रिपोटिङ भएपछि उहाँलाई अब मन्त्री पदमा राखि राख्नु पार्टी नेता कार्यकर्ताका लागि उचित हुदैन भन्नेमा हामी पुगिसकेका छौँ ।


उनले अघिल्ला मन्त्री प्रदीप यादवको काम गर्ने तरिकालको स्रहाना गरे । उनले भने, तीन महिना मन्त्री पदमा बसेका हाम्रो पार्टीका नेता जुन अहिले प्रमुख सचेतक भएर बस्नु भएको छ । उहाँले धेरै राम्रो काम गर्न खोज्नु भएको थियो तर उहाँले धेरै दिन बस्न पाउनु भएन । मधेश प्रदेशमा चिडियाखानाको कुरा उठाउनुभयो उहाँले । अहिलेको मन्त्रीले त्यो काम अगाडि बढाउने पनि सुरसार गरेको छैनन् बरु कताको जलविद्युत् आयोजना छन् कताको सिमेन्ट उद्योग छन् तिनको कामका लागि उनी लागि रहेका छन् ।


पार्टी स्रोत अनुसार वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको भ्रमणबाट फर्किसकेपछि अहिलेका सबै पार्टीका अधिकांश मन्त्रीलाई हटाएर नयाँ अनुहार मन्त्री परिषदमा नियुक्त गर्ने योजना बनाएका छन् । त्यसो भयो भने वर्तमान वन मन्त्री महतो दशै भन्दा अघिको लटमा पनि पार्टीले फिर्ता बोलाएर अर्काे सांसदलाई मन्त्रीमा पठाउने छ । त्यसो भएन भने पनि तीन महिना महतोले बिताइसके । अबको अर्काे तीन महिनापछि त पार्टीले फिर्ता बोलाउने नै भएको छ ।


अध्यक्ष उपेन्द्र यादवको भनाई उदधृत गर्दै उनले भने, चीनसँग दीर्घकालिन असर हुने खालका सन्धी, सम्झौता नगर्न भनिएको छ , यदि त्यसो भएमा हाम्रो पार्टी सरकारबाट बाहिरिने जानकारी दिनुभएको छ । त्यसैले चीनसँग यो पटक प्रधानमन्त्रीले विद्युत् सम्झौता लगायतका महत्वपूर्ण विषयमा सम्झौता नगर्ने भएपछि सरकार पनि टिक्छ जस्तै छ । त्यसैले प्रधानमन्त्रीले नयाँ अनुहार सहितको मन्त्री मण्डल बनाउने सम्भावना निकै बढी रहेको छ ।


मन्त्री महतोले पार्टी कार्यकर्ताका कुरा पनि नसुन्ने गरेको आरोप पार्टीभित्र लागेको छ । उनले पार्टी अध्यक्षको कुरा मात्र सुन्न गरेको बताइएको छ । पार्टीका सबै कार्यकर्ताको मनोभावना बुझ्ने कोसिस बरु शिक्षा मन्त्री अशोक राईले गरेको पनि ती पदाधिकारीले बताए ।


पार्टी अध्यक्षले नै वन मन्त्रीको हकमा छ महिनाको लागि नियुक्त गरिएको कुरा बारम्बार बिभिन्न बैठकमा भनिरहेकोले हामीले हतार पनि गरेका छैनौँ तर पनि प्रधानमन्त्रीले हालको मन्त्री मण्डलमा रहेका केही मन्त्रीहरुको कार्यसम्पादन राम्रो नदेखिएका विषयमा पार्टी अध्यक्षसँग छलफल गरेकोले पनि उहाँलाई यही लटमा पनि फिर्ता बोलाउने तयारी लाग्न हामीले पार्टी अध्यक्षलाई भनिसकेका छौँ ।

उनले भने, कि त मन्त्री महतोले आफ्ना बानी व्यहार सुधार गर्नुपर्छ होइन भने तत्काल फिर्ता बोलाउनु पर्छ । यी कुरा भन्दा अरु विकल्पको बारेमा सोच्न सकिदैन । पार्टी बदनाम हुँदै जाने अनि मन्त्रीले आफ्नो स्वार्थमा काम गर्दै जाने कुराले पार्टीलाई घाटा हुन्छ, पार्टी बदनाम भएर कसैलाई मन्त्रीको जागिर खुवाउन सकिदैन ।


सरुवामा बोलकबोल
जिल्ला वन अधिकृतहरु प्रदेशमा गइसकेपछि मन्त्री महतोको आँखा निकुञ्जका प्रमुख संरक्षण अधिकृत र पाँच वटा कलष्टरमा रहेको चुरे कार्यन्वायन इकाई प्रमुखको सरुवामा रहेको छ । यस पटकको चुरे कार्यान्वायन इकाईमा जाने उपसचिव र तराईका निकुञ्जमा जाने संरक्षण अधिकृतहरुलाई सजिलैसँग सरुवा हुन स्थिति नरहेको बताइएको छ । मन्त्रीले कर्मचारीहरुको सरुवाका लागि आफूले नियमसम्मत गर्ने बताउँदै आएका छन् तर उनको व्यावसायिक डिल गर्ने टिमले इच्छुक उपसचिवलाई बोलाएर मन्त्रालय बाहिरै बसेर हेड टु हेड कुराकानी गर्ने गरेको छ ।

विशेष गरी क्रसर उद्योग रहेका निकुञ्जमा उनले बढी चासो देखाएका छन् । क्रसर उद्योगको कामका लागि एक चरणमा मन्त्रीका मान्छेले रकम उठाइ पनि सकेका छन् । पर्सा, चिवन, बाँके,बर्दिया राष्ट्रिय निकुञ्ज वरीपरी रहेका क्रसर उद्योगको टिमले केही दिन अघि मन्त्रीलाई सामुहिक भेट पनि गरिसकेका छन् । होटल याक एण्ड यतिमा भएको भेटमा मन्त्रीले क्रसर उद्योग सम्बन्धी दबाव सिर्जना गर्न प्रतिनिधि सभा विषयगत समितिका सभापतिहरुलाई राखेर कार्यक्रम गर्न पनि सुझाएका थिए । सोही अनुरुप एउटा कार्यक्रम काठमाडौँमा पनि सम्पन्न भयो ।

सो कार्यक्रममा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु देउवाको भने उपस्थिति देखिएन । क्रसर उद्योगी र माओबादीको केही नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारमा भेटेका थिए । बालुवाटारमा मन्त्री महतोलाई पनि बोलाइएको थियो ।


क्रसर उद्योगलाई सहज हुने गरी सरुवा गराउन अहिले मन्त्री महतोलाई चौतर्फी दबाव दिने काम भइरहेको छ । स्वयम् मन्त्री महतोले केही दिन अघि तराई भ्रमणमा निस्केका बेला केही क्रसर उद्योगीहरुलाई भेटेर काठमाडौँ फर्केका छन् ।मन्त्री महतोले मन्त्रालयमा पार्टी कार्यकर्ताहरुलाई भेट दिने गरेका छन् भने व्यावासयिक डिल मन्त्रालय बाहिर र सकभर उपत्यका बाहिर गएर गर्ने गरेका छन् ।


निकुञ्जमा चार जना प्रमुख संरक्षण अधिकृतको सरुवाका लागि साउनकै महिना टिप्पणी उठाएर ल्याउन निर्देशन दिएका मन्त्री महतोले भदौ महिनाभरी सचिव डा. रेवतीरमण पौडेल र प्रशासन महाशाखा प्रमुख शिव रेग्मीलाई सरुवाको फायल अघि बढाउन हुटहुटी लगाएका थिए । सरुवाको समय नजिकै गएका बेला दुई/चार जनाको सरुवा गर्नुभन्दा एकै पटक सबैको सरुवा गर्दा राम्रो हुने राय दिएका प्रशासन महाशाखा प्रमुख रेग्मीलाई युरोपमा हुने एउटा कार्यक्रममा मनोनयनका लागि पेश गरिएको फायल फिर्ता गरिदिएका थिए भने सचिव रेवतीरमणको सरुवा गरि छाडे ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here