काठमाडौँ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय विश्व सम्मेलनको २८औँ संस्करण (कोप २८) को तयारी सम्बन्धमा वन तथा वातावरण मन्त्रालयले सरोकारवालाहरुसँग बिहीबार व्यापक छलफल चलाएको छ ।
कोपमा नेपालको रणनीतिक सहभागिता विषयमा राउण्ड टेवल छलफलमा नेपालका तर्फबाट हालसम्म गरिएको तयारीका सम्बन्धमा मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. बुद्धिसागर पौडेलले जानकारी गराए । उनका अनुसार सम्मेलन स्थलमा नेपालले आफ्ना अनुभव, प्रयास तथा सफल कार्यक्रमहरु बारे विश्व समुदायलाई जानकारी गराउन विशेष स्थान ( पेभिलिएन) लिएको छ ।
![](https://i1.wp.com/nepalkatha.com/wp-content/uploads/2023/11/cop-2023-1-copy-scaled.jpg?fit=696%2C445&ssl=1)
सम्मेलन स्थलमा यस पटक नेपालले बिभिन्न विषयमा साइड इभेन्टको आयोजना गरेर जलवायु परिवर्तनको असरले पारेका नेपालका समस्या, चुनौतीका साथै असल सिकाई र अभ्यास बारे विश्व समुदायलाई जानकारी गराउने भएको छ,डा.पौडेलका अनुसार बिभिन्न थिममा नेपालको पोजिसन पेपर तयार पारिएका छन् । ती पेपरको अन्तिम रुप दिने काम भइरहेको छ । नेपालले सम्मेलनका अवधिभर तीन दर्जन भन्दा बढी साइट इभन्ट आयोजना गर्नका लागि आवश्यक तयारी गरिरहेको छ ।
बिहीबारको राउण्ड टेवलमा जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा नेपालले उठाउनु पर्ने एजेण्डाका विषयमा छलफल भयो । कार्यक्रममा राजु पण्डित क्षेत्री, डा. विमल रेग्मी, मञ्जित ढकाल, भूषण तुलाधर लगायतका सरोकारवालाहरुले नेपालले उठाउनु पर्ने बिबिध विषयहरुलाई मन्त्रालयले समेट्नुपर्ने सुझाव दिए ।
नेपालले जलवायु परिवर्तनले हिमालमा पारेको असरले हिमाली अर्थतन्त्रको बारेमा जोडदार ढङ्गले आवाज उठाउनुपर्ने, हानी र क्षतिको विषय, जलवायु वित्तको प्राप्तिका विषयलाई जोडदारका साथ उठाउनुपर्ने सुझाव दिएका छन् । नेपालले विगतका सम्मेलनमा प्रतिवद्धता जनाएका कुराहरुमा के कति प्रगति भएको छ भन्ने बारे पनि मूल्याङ्कन हुनुपर्ने सुझाव सहभागीले दिएका छन् ।
![](https://i0.wp.com/nepalkatha.com/wp-content/uploads/2023/11/cop-2023-2-copy.jpg?fit=696%2C422&ssl=1)
कार्यक्रममा वन तथा वातावरण मन्त्री डा. बीरेन्द्रप्रसाद महतोले नेपाल जलवायु परिवर्तनको असरले आक्रान्त भएको मुलुक भएकाले नेपालले अन्तर्राष्ट्रिय जगतको मुख मात्र नताकेर जलवायु परिवर्तनको असरलाई न्यूनीकरणका लागि आन्तरिक तयारी र लगानी गर्नुपर्नेमा जोड दिए । उनले भने, हामीले कोप कोप भनेर मात्र केही हुने बाला छैन । नेपालले आन्तरिक रुपमा आफ्नो श्रोतबाट पनि यसमा लगानी गर्न जरुरी भइसकेको छ । उनले अगाडि भने, नेपालमा अझै ठूलठूला प्राकृतिक विपत्ती हुने संकेत देखा परिरहेका छन् । हिमालको हिउँ पग्लेर नयाँ हिमताल बन्ने र फुट्ने डर यथावत छ । यस्तो बेला अर्काको मुख ताकेर मात्र हुँदैन ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. दीपककुमार खरालले कोप २८ मा नेपालले आफ्नो एजेण्डाका बारेमा तयारी मिहिनेतका साथ गरिरहेको जानकारी दिए । उनले भने, यो पटकको कोप नेपालका लागि विशेष खालका हुनेछ । हामीले पेभिलिएन लिएर नेपालले हालसम्म गरेका काम कारवाही र अनुभवका बारे विश्व समुदायलाई भन्ने कोशिस गर्ने जमर्काे गरेका छौँ ।
सो कार्यक्रममा नेपालका लागि युएई र इजिष्टका राजदूतहरुले पनि नेपालले उठाउनुपर्ने विषय र नेपाल लगायतका अल्प विकसित मुलुकका लागि सम्मेलनका महत्वका विषयमा बोलेका थिए ।
महाशाखा प्रमुख डा. पौडेलले बिहीबारको छलफलबाट आएका सुझावलाई मन्त्रालयले कोप डकुमेन्टहरुको तयारीका क्रममा समेट्ने जानकारी दिए ।