जलवायु सम्मेलनमा सफलताका कथा सुनाउने तयारीमा प्राक्टिकल एक्सन

काठमाडौँ । आगामी नोभेम्बर ३० बाट युएईको दुबईमा आयोजना हुने संयुक्त राष्टसंघीय जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा नेपालमा भएका प्राकृतिक विपत्ती र त्यसको पुर्ननिर्माणमा नेपालले हालसम्म सञ्चालन गरेका सफल प्रयासहरु सुनाउन प्राक्टिकल एक्सनले तयारी गरेको छ ।


सो संस्थाले आगामी डिसेम्बर ३ का दिन नेपालमा प्राकृतिक विपत्ती भएका हानी, नोक्सानी र त्यसको पुर्ननिर्माण भएका सफलताहरुका विषय बारे साइड इभेन्ट्समा विश्व समुदायलाई जानकारी दिने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा सम्मेलन स्थलमा नेपालले लिएको पेभिलिएनको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालद्वारा सो पेभिलिएन उद्घाटनसँगै अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था (इमि) ले जलवायु परिवर्तनले नेपालको पानी आपूर्ति र सरसफाई क्षेत्रमा देखा परेका चुनौती विषयमा कार्यक्रम गर्ने भएको छ ।

सन् २०१७ मा पूर्वी तराईमा आएको बाढी

प्राक्टिकल एक्सन र मर्सिक्रप्स संस्थाको संयुक्त आयोजनामा जलवायु परिवर्तनले भएको क्षति र हानी नोक्सानीमा नेपालको अवस्था र आवश्यकता विषयमा सोही दिन कार्यक्रम सञ्चालन हुने भएको प्राक्टिकल एक्सन नेपालका जलवायु परिवर्तन तथा विपत व्यवस्थापन कार्यक्रम प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिएका छन् ।


डा. उप्रेतीका अनुसार नेपालमा सन् २०१७ मा पूर्वी तराईमा आएको बाढीबाट भएको क्षति, हानी, नोक्सानी र नेपाल सरकारले त्यसको पुर्ननिर्माण गर्न लिएका रणनीति, कार्ययोजना, कार्यक्रम बारे सो अवसरमा प्रकाश पारिनेछ । प्राक्टिकल एक्सनले सो बाढीबाट नेपालमा आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रमा परेको असर र ती असरलाई पुर्नस्थापना गर्न गरिएका प्रयाससँग विश्वका अरु मुलुक भएका प्रयासहरुको तुलनात्मक अध्ययन पनि गरेको छ । विश्वका अरु मुलुक र नेपालका गरिएका कामहरुको तुलनात्मक प्रस्तुतीले सरोकार राख्ने मुलुकहरुकाबीच ज्ञान आदान प्रदानमा हुने डा. उप्रेतीले बताए ।

डा. धर्मराज उप्रेती

बाढी पहिरो नियन्त्रण गर्न पूर्व तयारी, क्षति भइसकेपछिको तत्काल पुर्नस्थापनाको विषयमा प्रविधि, नयाँ अवधारणा, समावेशीता र सहभागिता र त्यसका लागि लागेको वित्तीय स्रोतका व्यवस्थापनका बारेमा विश्व समुदायलाई जानकारी दिन यो कार्यक्रम निकै फलदायी हुने उनले बताए ।

उनले भने, नेपाल अल्पविकसित मुलुक हो । तर पनि हाम्रा केही परम्परागत प्रविधि र शैली तथा आधुनिक प्रविधिको प्रयोगले नेपालले प्राकृतिकजन्य जोखिमसँग जुध्न सकेको छ । ती कुराहरुलाई विश्व मञ्चमा लैजानु जरुरी भएकाले यो पटक यस खालको प्रयास गरिएको हो ।


प्राक्टिकल एक्सनले नेपालमा हुने बाढी,पहिरोबाट भइरहेको जोखिम न्यूनीकरण गर्न सरकारलाई पूर्व सूचना प्रणाली विकास गर्न सहयोग गर्दै आइरहेको छ । विशेष गरी कर्णाली जलाधार क्षेत्रमा सो संस्थाले पूर्व सूचना प्रणालीको विकास गरेको छ । कर्णाली नदीको टीकापुर, गेरुवा,जानकीनगर, मधुवन, राजापुर लगायतका क्षेत्रमा यो प्रणालीको विकास गर्न आर्थिक तथा प्राविधिक सहयोग गरेको छ ।


त्यसैगरी सो संस्थाले मौसम विज्ञान विभागलाई औरही खोलामा मौसम स्टेशन निर्माण गर्न आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेको छ । सो क्षेत्रमा मौसम स्टेशन निर्माण भएपछि औरही खोलामा पानीको वहाव, तापक्रम तथा हावाको वेग मापन गर्न र सूचना प्रवाह गर्न सहज भएको छ । पश्चिम राप्ती, बबई नदी प्रणालीमा पनि पूर्व सूचना प्रणालीको विकास गर्न सहयोग प्रदान गरेको छ ।

सो संस्थाले बिभिन्न नदी जलाधार क्षेत्रका प्रभावित बासिन्दालाई बाढीको पूर्व जानकारी दिने उद्देश्यले मोवाईल एसएमएस प्रणाली, हरेक स्थानीय तहमा आपतकालिन केन्द्रको गठन र विपत व्यवस्थापन समिति गठनका लागि आवश्यक सहयोग गर्दै आइरहेको छ । यी संरचनागत र प्राविधिक कुराको स्थापना पछि स्थानीय समुदायले बाढी तथा पहिरो बारे पूर्व सूचना प्राप्त गर्न सकेका छन् जसका कारणले विगतको भन्दा मानवीय र भौतिक क्षति कम हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here