बेइजिङ । आगामी नोभेम्बर ३० बाट आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन अघि विश्वका ठूला अर्थतन्त्र भएका दुई मुलुक अमेरिका र चीन जलवायु सहयोगमा एउटा कार्य समूह गर्न सहमत भएका छन् । सो कुराको जानकारी चीन र अमेरिका दुबै मुलुकले दिएका छन् ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुबै मुलुकका सरकारले ऊर्जा सङ्क्रमण, मिथेन, स्रोत दक्षता, कम कार्बन, वन विनाश र दिगो प्रान्त र सहरी क्षेत्रमा ध्यान केन्द्रित गर्ने उल्लेख गरेका छन् । सो कुरालाई चीनको सरकारी सञ्चार माध्यमले पनि समाचार प्रकाशन र प्रशारण गरेका छन् ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुबै मुलुकलाई जलवायु परिवर्तन सम्बन्धी कामहरुलाई ठोस गति दिन वार्ता र सहयोग गर्नका लागि सो कार्य समुह गठन गर्न सहमति भएको उल्लेख गरिएको छ । नोभेम्बर ४ देखि ७ सम्म क्यालिफोर्नियाको सन्निल्यान्ड्स रिट्रिटमा अमेरिकी र चिनियाँ जलवायु दूतहरू जोन केरी र झि झेनहुवाबीच भएको कुराकानीपछि उक्त विज्ञप्ति बाहिर आएको छ ।
दुवै पक्ष मानव जातिको अहिलेको भइरहेको अवस्था र भविष्यको पुस्ताका लागि हाम्रो समयको सबैभन्दा ठूलो चुनौती मध्येको एकको सामना गर्नका लागि एकसाथ र अन्य पक्षहरूसँग मिलेर काम गर्न सहमती जनाएका कुरा विज्ञप्तिमा उल्लेख छ । जलवायु दूतहरुले ऊर्जा नीति र रणनीतिमा द्विपक्षीय वार्ता पुनः सुरु गर्ने प्रतिवद्धता पनि गरेका छन् भने ऊर्जा–बचत र कार्बन घटाउने समाधानबारे नीतिगत आदानप्रदानलाई गहिरो बनाएर लैजाने कुरामा पनि सहमति जनाएका छन् ।
बेइजिङले गत साता आफ्नो ग्यास उत्सर्जन नियन्त्रण गर्न एउटा योजना सुरु गरेको थियो । यद्दपी उक्त योजनाले कार्बन उत्सर्जन घटाउने कति लक्ष्य राखेको छ भन्ने कुरा बाहिर आएको छैन । पछिल्लो चरणमा आएको विज्ञप्तिमा दुवै पक्ष सन् २०३५ उत्सर्जन कटौती योजनामा समावेश गर्न आफ्ना सम्बन्धित मिथेन न्यूनीकरण कार्यक्रम तथा सो सम्बन्धी लक्ष्यहरू विकास गर्न भने सहमत भएको उल्लेख गरिएको छ ।