हिमालको दीगो विकासमा सहकार्य जरुरी

काठमाडौँ । विश्वव्यापी तापक्रम सन्तुलनमा हिमालको महत्वपूर्ण भूमिका हुने कुरा स्वीकार गर्दै काठमाडौँमा सञ्चालित ‘हिमाल, मानव र जलवायु’ सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन सम्पन्न भएको छ ।


सम्मेलनले पर्वतीय मुलुकका समस्या केवल पर्वतीय मुलुकका मात्र नभएर यसका प्रभाव तल्लो तटीय टापु मुलुकसम्म पुगीरहेको कुरालाई स्वीकार गर्दै यसले विश्वव्यापी रूपमा दूरगामी प्रभाव पार्न सक्ने तर्फ सचेत हुन पनि विश्व समुदायलाई सम्मेलनले आग्रह गरेको छ ।


सम्मेलनले जलवायु सङ्कटलाई सम्बोधन गर्न र हिमाली वातावरणको संरक्षण गर्न तत्काल कदम चाल्न आवश्यक रहेको कुरालाई प्रमुख रुपमा उठाएको छ । सम्मेलनले ‘समरी अफ दि चियर’ सार्वजनिक गर्दै विकासोन्मुख देशहरूको आवश्यकता अनुरूप आवश्यक पर्ने वित्तीय खाडल कम गर्न जलवायु वित्तलाई तत्काल सम्बोधन गर्न आवश्यक रहेको कुरालाई पनि जोड दिइएको छ ।


वैज्ञानिक, विज्ञ तथा अध्येता सम्मिलित सम्मेलनले विश्वको तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न अझै पनि सम्भव छ भन्दै यसका लागि प्रभावकारी रुपमा आवश्यक सबै कामहरुको थालनी गरिहाल्न ढिलान गर्न नहुने कुरामा पनि जोड दिएको छ । यस्तो कामलाई निकै महत्वाकांक्षी र सामूहिक कार्यको आवश्यकता भएको कुरामा पनि सम्मेलनले जोड दिएको छ ।


सम्मेलनले पर्वतीय एजेन्डालाई अगाडि बढाउँदै विश्वव्यापी सहयोग र क्षेत्रीय साझेदारीको आवश्यकतालाई पनि जोडदार ढंगले उठाएको छ । हिमालको मुद्धा कुनै एक देश र भेगको नभई क्षेत्रीय र अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलनमा प्रमुख विषय बनाएर छलफल र बहस गर्न पनि सम्मेलनले आग्रह गरेको छ ।


सम्मेलनले स्वीकार गरेका प्रमुख सिफारिसका बुँदाहरुमा हिमाललाई साझा मुद्धा बनाउने समझदारीलाई समृद्ध बनाउन, जलवायु वित्तको पहुँच र वितरणलाई गति दिन र विकास लगानीको संरक्षण गर्न क्षेत्रीय साझेदारी र विश्वव्यापी सहयोगको आवश्यकता महसुस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here