काठमाडौँ । काठमाडौँको खानेपानीको समस्या समाधान गर्न करिब तीन दशक अघि सुरु गरिएको मेलम्ची खानेपानी आयोजना आउन नसकेको अवस्थामा बढ्दो जनसंख्यालाई दृष्टिगत गर्दै अर्काे वैकल्पिक खानेपानी आयोजनाको पनि बहस भइरहेको छ ।
बूढालीकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सार्ने विषयमा गृहकार्य भइरहेको बताएका छन् ।
नगरपालिकाद्धारा आयोजना गरिएको एक ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रममा उनले मेलम्ची आयोजना मात्रले यहाँको खानेपानीको समस्या समाधान गर्न नसकिने महसुस गरी काठमाडौँ उपत्यका नगरप्रमुख मञ्चले सो परियोजनाबारे गृहकार्य गर्नुपर्ने कुरा उठाएको जानकारी दिए ।
उनले आफ्नो नगरपालिकालगायत अन्य तहका लागि पनि खानेपानीको माग आपूर्ति गर्नका निम्ति मुहानपोखरीमा बाँध बाँध्न सम्भाव्यता अध्ययन गर्ने सोच राखिएको पनि बताए ।