आज बाघको संख्या सार्वजनिक गरिँदै

काठमाडौँ । आज अंग्रजी तारेख जुलाई २९ अर्थात विश्व बाघ दिवस । बाघ दिवसका अवसरमा अहिले बिहाना नेपालमा बाघको अनुमानित संख्या सार्वजनिक गरिने भएको छ ।

हरेक वर्ष जुलाई २९ का दिन विश्व बाघ दिवस मनाउने गरिएको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको पहिलो बाघ सम्मेलनले बाघ संरक्षण र बाघ संरक्षण सम्बन्धी सचेतना र सजगता अपनाउका लागि यो दिनलाई बाघ दिवस मनाउने घोषणा गरेको थियो ।


सोही दिनको अवसर पारेर नेपालले बाघ सर्वेक्षणको नतिजा आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पर्सा, चिवतन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पाइने बाघको संख्याको सर्वेक्षण गरिएको छ ।


बाघ सर्वेक्षणको काम सम्पन्न गर्न विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यको संयोकत्वमा प्राविधिक समिति रहेको छ । प्राविधिक समितिले चैत, बैशाख, जेठ र असार महिना गरी फिल्ड स्तरबाट आएका २० हजार बाघका तस्विर छनौट, विश्लेषण र अध्ययन गरी नेपालमा बाघको अनुमानित संख्या र उसको आहार प्रजातिको अवस्थाको विवरण तयार पारेको थियो ।


सोमबार बसेको बाघ गणना सम्बन्धी सल्लाहकार समितिको बैठकले प्राविधिक समितिले दिएको बाघको अनुमानित संख्याको प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।


विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलको संयोजकत्वमा सल्लाहकार समिति रहेको छ । सो समितिमा वन तथा भूसंरक्षण विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधान, मन्त्रालयका सहसचिव दीपक ज्ञवाली, विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, संरक्षण साझेदार संस्था जेडएसएल नेपालका प्रमुख डा. भगवानप्रसाद दाहाल, डब्लुडब्लुएफ नेपालका प्रमुख डा. घनश्याम गुरुङ, नेपाल प्रकृति संरक्षण कोषका सदस्य सचिव डा. चिरिञ्जीवि पोखरेल रहेका छन् ।


सो नतिजा बुधबार बिहान विभागको टाइगर हलबाट कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here