कुनै पनि दल सञ्चालनको वैधानिक पद्धती पार्टी दस्तावेज र विधान हो । विधानकै मातहत रहेर जिम्मेवारी बाडफाँटदेखि पार्टी संगठन सञ्चालनदेखि कार्य योजनाहरुको कार्यान्वयन हुन्छ। तर केन्द्रदेखि स्थानीय तहसम्म राज्य संञ्चालनको बागडोर सम्हालेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भने अहिलेसम्म कामचलाउ दस्तावेज र विधानकै भरमा चलिरहेको छ ।तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकतापछि बनेको नेकपाले आठ महिनासम्म पनि पार्टीलाई विधि र पद्दतिमा चलाउने दस्तावेज र विधान बनाउन सकेको छैन् । पार्टी एकता लगत्तै जेठ ५ गतेको सचिवालय बैठकले दश दिनभित्रै राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने निर्णय गरेको थियो । त्यसपछि फेरि त्यो समय साउन मसान्तलाइ सारियो । फेरि स्थायी समितिले त्यसको जिम्मा कार्यदललाई दिएको छ । यसको अर्थ हो, अहिलेसम्म पनि नेकपा अन्तरिम विधानकै भरमा छ।
पार्टीको आधिकारिक विधान तथा राजनीतिक दस्तावेज नहुँदा नेतृत्वको तजविजी मात्रै चल्ने हो । नेकपामा त्यही भइरहेको छ । शीर्ष नेताकै निर्णयलाई विधान मान्नुपर्ने अवस्थाले पार्टी पंक्ति अन्योलमा छ । यही कारण केन्द्रदेखि तल्लो तहसम्म पार्टीका कार्यक्रम समेत लैजाने स्थिति छैन ।
पार्टी सञ्चालनको कार्ययोजनाका लागि अनिवार्य मानिने विधान र नियमावलीको अभावमा नेकपाको एकता प्रकृया समेत अल्झिएको छ । आफैँ काम चलाउ हैसियतमा रहेको पार्टीबाट प्रभावकारी राज्य संचालनको अपेक्षा कसरी गर्ने ? प्रश्न उठ्नु स्वभाविकै हो ।
kantipur