देशकै ठुला अस्पातलहरु कारबाहीमा

देशकै अत्याधुनिक प्रविधिको प्रयोगबाट उपचार हुने महंगा र सुविधासम्पन्न भनिएका र राजनेताहरुले उपचार गर्ने अस्पतालहरुले अस्पतालजन्य प्रदुषण जथाभावी रुपमा फाल्ने गरेको देखिएपछि सरकारले त्यस्ता संस्थालाई कारवाही गर्ने भएको छ ।
राजधानीका सुविधासम्पन्न तथा चिकित्सा क्षेत्रमा आफुलाई फाइप स्टार सुविधा प्रदान गर्ने भनिएका नर्भिक, ओम, नोबेल, ग्रिन सिटी, मेडिकेयर लगायतका अस्पतालजन्य संक्रमित फोहोरलाई व्यवस्थापन गर्ने विधि र संरचना नबनाएको भन्दै वातावरण विभागले कारवाही गर्ने तयारी गरेको छ ।
अस्पतालजन्य संक्रमित फोहोरलाई सोझै नगरपालिकाका फोहोर उठाउने गाडीमा फाल्ने, सडकका छेउछाउमा जम्मा पारेर खुला छाड्ने, संक्रमित पानीलाई सोझै ढलमा मिसाउने गरेको पाइएकोले उपत्यका भित्रका १८ वटा गनेचुनेका अस्पताललाई कारवाही गरिने भएको छ ।
विभागका अनुसार अस्तापल सञ्चालन गरेको वर्षाै भएपनि हालसम्म वातावरण संरक्षण ऐनले निर्धारण गरेको वातावरणीय प्रभाव मूल्याङ्कन समेत नगरेको र कागजी रुपमा गरेको तर संरचना नबनाएका गरी १९ वटा ठूला अस्पताललाई वातावरण ऐन अनुसार कारवाहीका लागि वन तथा वातावरण मन्त्रालयमा सिफारिस गरेर पठाइएको वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, नर्भिक इन्टरनेशनल जस्तो ख्याती प्राप्त अस्पतालले आफ्नो संक्रमित फोहोर सोझै महानगरपालिकाको गाडीमा फाल्ने गरेको छ । यसले गाडी संक्रमित हुन्छ र पुरै ल्याण्डफिल साइट नै संक्रमित हुन्छ । जसले गर्दा कुनै महामारी फैलिन सक्ने प्रचुर सम्भावना रहन्छ ।
उहाँका अनुसार ती अस्पतालहरुले संक्रमित पानीलाई पनि सोझै ढलमा मिसाएको पाइएको छ । ढल त कति टाढासम्म बग्छ, फेरी हाम्रो ढल पनि व्यवस्थित छैन, ढल फुट्ने समस्या निकै बढी भएकाले त्यो संक्रमित पानीले समाजमा रोगको संक्रमण फैलाउने सम्भावना देखिन्छ । महानिर्देशक अधिकारीले भन्नुभयो, यो समस्या उपत्यकाका अधिकांश अस्पतालमा देखिएकोले हामीले कारवाहीको लागि मन्त्रालय पठाएका छौँ । यो जधन्य अपराध हो । अस्पतालको लापर्वाहीले गर्दा कैयौँ निर्दोष र निरोगी मानिस पनि संक्रमणको चपेटमा पर्न सक्ने भएकाले यसलाई गम्भीर अपराध मानेर कारवाही गरिन थालिएको हो ।
उपत्यका भित्रका ३७ वटा अस्पतालमा गरिएको विभागको अनुगमनमा १९ वटा अस्पतालले न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको विभागले जनाएको छ । विभागका अनुसार ती १९ मध्य १२ वटा नाम चलेको अस्पतालले इआईए र आइइई समेत गरेको र बाँकी सात वटा अस्पतालले संक्रमित फोहोर र पानीको व्यवस्थापन नगरेर आम नागरिकको स्वास्थ्य माथि खेलवाड गरेको दावी विभागको छ ।
इआईए र आइइई नभएका अस्पतालमा ग्रिन सिटी, विनायक, शहिद मेमोरियल, विपी स्मृति, हेल्पिङ हेण्डस्, मेडिकेयर, ओम, काठमाडौ मोडेल लगायतका अस्पताल छन । त्यसैगरी संक्रमित फोहोर र दूषित पानीको व्यवस्थापन नगरेर सोझै फोहोर फाल्ने स्थानमा फाल्ने र ढलमा मिसाउने गरेको अस्पतालमा एभरेष्ट, नोबेल, आयुर्वेद चिकित्सालय,मनमोहन मेमोरियल, नर्भिक, काठमाडौँ भ्याली, गणेशमान, एपीएफ अस्पताल र काठमाडौँ मेडिकल कलेज सिनामंगल रहेका छन् ।
वातावरण संरक्षण ऐन २०५३ विपरित कार्य गर्ने जोकोहीलाई कारवाहीको दायरामा ल्याइने वन तथा वातारण मन्त्रालयका प्रवक्ता डा. सिन्धु ढुंगानाले बताउनुभयो । उहाँले भन्नुभयो, ऐनले तोकिएको मापदण्ड अनुसार काम नगरेर आम नागरिकको जनस्वास्थ्यमा खेलवाड गर्नेलाई मन्त्रालयले बोलाएर आवश्यक व्यवस्थापन र संरचना निर्माणका लागि सुनुवाईको मौका दिने र सो समयमा संरचना नबनेर कारवाही गरिने छ । ऐनको पालना त सबैले गर्र्र्नैपर्छ ।
सो ऐनले वातावरण प्रति खेलबाड गर्ने निकायलाई ५० हजार देखि पाँच लाख रुपियाँसम्म जरिवाना गर्न सक्ने कानूनी प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here